क्षतिपूर्ति दिने उद्योगको आश्वासनपछि चार दिनमा उठाइयो तीन बालबालिकाको शव

by

in

विराटनगर । मार्वल उद्योगले दुर्घटनामा परेर मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिने सहमति जनाएपछि चार दिनदेखि कोशी अस्पतालमा रहेको तीन बालबालिकाको शब सोमबार परिवारले जिम्मा लिएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवापूर्व सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरमा शुक्रबार लरी पल्टिएर ज्यान गुमाएका तीन बालबालिकाको शव सोमबार परिवार र आफन्तले जिम्मा लिएका हुन् । स्थानीयले उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव नबुझ्ने बताएपछि प्रहरीले सहमतिको प्रयास गरेको थियो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले मार्वल उद्योगका प्रतिनिधिले आवश्यक क्षतिपूर्ति दिलाउने र घाइतेको उपचार गराउने सहमति गरेको जानकारी दिए ।

शुक्रबार आरजे २९ जीबी १५६१ नम्बरको लरी पल्टिएर तीन बालबालिकाको ज्यान लिएको थियो । नेमुवामा रहेको अन्नपूर्ण मार्वल उद्योगका लागि वैश्णो ग्रेनाइट कम्पनीले ढुङ्गा आयात गरेको थियो ।

ग्राभेल गर्न थुपारिएको गिट्टी छल्ने क्रममा दुर्घटना हुँदा ज्योति अधिकारीका ५ वर्षीय छोराछोरीद्वय निशान र इशिता तथा छिमेकी बालिका ७ वर्षीया रिया खवासको मृत्यु भएको थियो । घाइते अधिकारीको उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका चालकलाई नेपाल ल्याउने प्रयास भैरहेको कार्कीले जानकारी दिए ।

दुर्घटनाको मुख्य कारण सडक भएको उनको निश्कर्ष छ । सडकमा थुपारिएको गिट्टी छल्न गाडी छेउ लाग्दा दुर्घटना भएको जनाउँदै एस्पी कार्कीले एक सय २५ टन भारी गाडी नहरको बाटो आएको जानकारी दिए ।

नेपालका सडक बनाउँदा थिच्ने गरिएको उपकरणको वजन भने २५ टन मात्रै हुने गरेको उनले बताए । नेपालका सडकको भारवहन क्षमता ४५ टन मात्रै छ ।