टाउको नभएको अवस्थामा पुरुषको शव फेला

by

in

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–४ स्थित पिपरी गाउँदेखि दक्षिणतिर गहुँखेतको बीचमा रहेको कुलोमा जमिनमा गाडिएको अवस्थामा पुरुषको टाउको नभएको शव फेला परेको छ । हत्या गरेर घटना लुकाउने उद्धेश्यले शव गाडिएको अनुमान गरिएको छ ।
टाउको नभएको अवस्थामा पुरुषको शव फेला

आइतबार साँझ ६ बजेतिर कोदहवा चोकदेखि करिब ५ सय मिटर दक्षिण कुलोमा घुँडाको थोरै भाग देखिएको शव स्थानीयले देखेका थिए । त्यसपछि वडा अध्यक्ष रवीन्द्र तिवारीलाई खबर गरेपछि उनले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी तत्कालै घटनास्थल आएर खनेर हेर्दा घुँडाको भाग देखिएको थियो ।

राति भएपछि शवलाई ननिकालेर घटनास्थल सुरक्षित गरेर सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी प्रवक्ता तथा डीएसपी हरि वलीले बताए । करिब २५/२६ वर्ष उमेरको भएको अनुमान गरिएको पुरुषको हत्या गरिएको ठाउँ र गाडिएको ठाउँ करिब ढाई सय मिटर फरकमा छ । करिब आधी मिटर गहिरो खाल्टो खनेर शव पुरिएको थियो ।

शरीर र यौनांगका कतिपय भाग जलेको अवस्थामा रहेको छ । पुरुषले सट र ज्याकेट लगाएको छ । तलको भागमा कपडा छैन । टाउको भने अझै फेला परेको छैन । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटनास्थलमा बुटवलबाट तालिम प्राप्त ककुरसहित टोली परिचालन गरेर अनुसन्धान थालेको छ ।

घटना प्रकृति र शव हेर्दा ३ दिन भएको हुन सक्ने अनुमान गरिएको छ । मृतकको अझैसम्म पहिचान भने नखुलेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । शव पोर्स्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटनाको अनुसन्धान भइरहेको र छिट्टै हत्यारा पक्राउ पर्ने उनले बताए ।