१६ वर्षीया किशोरी विधालयको कक्षाकोठामै बलात्कृत, प्रिन्सिपल बिरुद्ध प्रहरीकोमा किटानी जाहेरी

by

in

दोलखा । दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रिन्सिपल भक्तराज बोहोरा बिरुद्ध आफ्नै बिद्यालयकी छात्रालाई बलात्कार गरेको अभियोगमा दोलखा प्रहरीमा किटानी जाहेरी परेको छ ।

डोटी जिल्ला केदार गाउँपालिका–१ घर भई हाल जेम एकेडेमीमा प्रिन्सिपल रहेका अन्दाजी २८ वर्षीय भक्तराज बोहोरा बिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी परेको हो । पीडित किशोरी र उनका बुबा आज जिल्ला प्रहरी कार्यालय चरिकोटमा उपस्थित भई किटानी जाहेरी दिएका हुन् । आफ्नै विद्यालयका प्रिन्सिपलवाट बलात्कारको शिकार भएकी किशोरी जेम एकेडेमी जिरीमा कक्षा १० मा अध्ययरत छात्रा हुन् । विधालयकै छात्रावास (होस्टल) मा बस्दै आएकी ती किशोरीलाई गत माघ १२ गते प्रिन्सिपल बोहोराले डर त्रास देखाई जवरजस्ती बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । आफु बलात्कारको शिकार भए पनि प्रिन्सिपलले अरुलाई भने मार्ने धम्की दिएका कारण पीडा लुकाएर बस्न बाध्य भएको पीडित छात्राले जाहेरीमा बताएकी छिन् ।

बोहोराले माघ १० गते राति छात्रालाई होस्टलवाट बाहिर बोलाएर घुम्न जाने प्रस्ताव गरे पनि उनले इन्कार गरेको र माघ १२ गते राती मदिरा सेवनगरी आएका प्रिन्सिपल बोहोराले ती छात्रालाई होस्टलवाट बाहिर बोलाई दाहिने पाखुरामा समाएर कक्षा ३ को कक्षाकोठामा लगि बलात्कार गरेको जाहेरीमा उल्लेख छ । आफ्नै प्रिन्सिपलले बलात्कार गरेपछि बिक्षिप्त भएकी पीडित छात्राले पीडालाई लुकाएर राखेको र फागुन १ गते राति करिव साँढे ९ बजे शौचालय जाने क्रममा बोहोराले जवरजस्ती गरेपछि साथीलाई घटनाका बारेमा भनेकी थिईन् । उनका साथीले परिवारका सदस्यलाई टेलिफोनवाट जानकारी दिएपछि बलात्कारको घटना बाहिरिएको थियो ।

प्रिन्सिपलले नावालिक छात्रालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि जेम एकेडेमीका विद्यार्थीहरुले हिजो प्रिन्सिपल माथि कुटपिट गर्नुका साथै कार्यकक्ष समेत तोडफोड गरेका थिए । त्यस लगत्तै पक्राउ परेका बोहोरालाई इलाका प्रहरी कार्यालय जिरीले हिजै जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *