माइजू र बहिनीमाथि खुकुरी प्रहार, हतियारसहित एक पक्राउ

by

in

माइजू र बहिनीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान साढे ९ बजेतिर मोरङको केराबारी–९ भलुवाइ घर भएकी ५० वर्षीया जमुनादेवी राई र उनीकी छोरी २५ वर्षीया रेणुका राईमाथि खुकुरी प्रहार गरी बनाएको आरोपमा लेटाङ नगरपालिका–१ का ५२ वर्षीय निरकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

खुकुरी प्रहारबाट घाइते आमाछोरी निरकुमारको माइजू र बहिनी नाताका भएको बताउँदै, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘पेस्तोल र खुकुरी बोकेर गएका निरकुमारले आमाछोरीलाई खुकुरी प्रहार गरेको खुलेको हो। उनको साथ अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ।’

पक्राउ परेका निरकुमारको साथबाट ‘मेड इन चाइना’ लेखेको सक्कली र नक्कली पेस्तोलका साथै घटनामा प्रयोग गरिएको खुकुरी बरामद भएको छ।

खुकुरी प्रहारबाट जमुनादेवी र रेणुकाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताउँदै, एसपी पोखरेलले भने, ‘घाइते आमाछोरीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ। घरायसी कारणबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

पक्राउ परेका निरकुमार र उनी श्रीमतीबीच केही समयअघि सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेद लगत्तै श्रीमतीले दोस्रो विवाह गरेकी थिइन्।

आफूसँग सम्बन्ध विच्छेद गराएर दोस्रो विवाह गराइदिएको आरोप लगाएर माइजू र भान्जा (निरकुमार) बीच विवाद हुँदै आएको थियो।

श्रीमतीको दोस्रो विवाहमा सहयोग गरेको रिसिइबी राखेका निरकुमारले जमुनादेवी (माइजू) लाई आक्रमणको योजनासहित पेस्तोल र खुकुरी बोकेर घरमा पुगेको बताउँदै, एसपी पोखरेलले भने, ‘हत्याको योजना बनाएर पुगेका निरकुमारले माइजूलाई खुकुरीले प्रहार गरे। पेस्तोल ताक्दै खुकुरीले आमालाई आक्रमण गरेको देखेपछि छुट्याउन गएकी रेणुका(छोरी) लाई पनि आक्रमणमा परिन्। अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि प्रतिकार गर्दा निरकुमारको अनुहारमा चोट लागेको छ।’

पक्राउ परेका निरकुमारको बेलबारी अस्पतालमा उपचार भइरहेको छ भने इलाका प्रहरी कार्यालय बेलबारीले घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।