पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु

by

in

पोखरा । पोखरामा करेन्ट लगाउँदै कुलोमा माछा मार्ने क्रममा दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २९ पटनेरीमा डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षकै सावित्री सुनार रहेका छन् ।

सुनार दम्पतिको स्थायी घर मुस्ताङ जिल्ला, जोमसोम हो । आज सोमबार साँझ ४ बजेको समयमा पटनेरी स्थित खेतमा पानी लैजाने कुलोमा बुढाबुढी मिलेर करेन्टबाट माछा मार्दै थिए ।

करेन्ट प्रवाह भएर दुवै जना घाइते भएको र तत्काल ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली पुगी उद्धार गरी दुवै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

दुवै जनालाई अस्पताल लग्ने बित्तिकै साढे ५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । थप विवरण आउने क्रममा रहेको पनि कास्की प्रहरीले जानकारी दिएको छ ।