विमान दुर्घटना: २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)

by

in

काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।

मालदिभ्स र चीनका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।

चालक दलका ४ सदस्य थिए ।
२२ नेपालीको मृत्यु, ११ घाइते
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ । घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।

नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।