१४ वर्षमै प्रेम विवाह गरेकी भारती २० वर्षमै एक्लो हुनुपर्‍यो,३ वर्षका दूधे बालक टुहुरा भए !

by

in

काठमाडौँ : बोल्न पटक्कै मन छैन। अझै भनौँ कमजोर स्वास्थ्यका कारण बोल्ने अवस्था नै छैन। छेउमै रहेका भारती मानन्धरका देवर भेट्न आउनेलाई हात जोडेर आग्रह गरिरहेका छन्, ‘स्वास्थ्य असाध्यै नाजुक छ, थोरै सोधिदिनुहोला।’ माइतीघर मण्डलको एक छेउमा मलिन अनुहारसहित बसिरहेकी भारती कहिले छोरो सम्झिन्छिन्, कहिले श्रीमान्, अनि बरर्र आँसु झार्छिन्।

उति नै बेला उनको अनुहारमा आउँछ, जेलबाट छुटेर अबीरजात्रा गर्दै गाडीको लावालस्करसहित गाउँ पसेका रिगल भनिने योगराज ढकालको तस्बिर। चिच्याउन खोज्छिन्। तर त्यो चिच्चाहट मनमै दब्छ। मलिन स्वरमा भन्छिन्, ‘अब मलाई बाँच्न मन छैन।’ २०७२ सालमा योगराजले उनका श्रीमान् चेतन मानन्धरको दिनदहाडै नेपालगन्ज बजारमा खुँडाले हानेर हत्या गरेका थिए।

भारतबाट आउने बसहरूबाट अवैध हप्ता असुली गर्ने र गुन्डा नाइके भनेर चिनिने रिगलले हप्ता असुलीमा अवरोध गरेको भन्दै नेपालगन्जको सुर्खेतरोडस्थित एक होटलमा चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। क्रूरतापूर्वक भएको हत्यालाई हत्या सावित गराएर रिगललाई कारावास पठाउन पनि भारतीको परिवारले लामो र कठिन संघर्ष गर्नुपरेको थियो।

‘अदालतको सिसा फोडेर, भोकभोकै आन्दोलन गरेपछि मात्रै रिगललाई थुनामा पठाउने निर्णय भएको थियो,’ भारतीले आँखाभरि आँसु पार्दै सुनाइन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गत भदौ २८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई असोज ३ गतेको संविधान दिवसमा आममाफी दिएका थिए।

त्यसपछि रिगल दाङको घोराहीस्थित जेलबाट छुटेर अबिर जात्रासहित गाउँ फर्किएको कुरा जतिपटक दिमागमा आउँछ, त्यति नै पटक भारतीको सास रोकिन खोज्छ। राष्ट्रपतिलाई चेतनकी पत्नीको प्रश्न : तपाईंकी छोरीलाई परेको भए मैले जस्तै रुँदै न्याय खोज्नु हुन्थ्यो? त्यो दिन भारती बुवाको १३ को काम सकेर घर फर्किएकी थिइन्। उनलाई बिहानैबाट फोन आइरहेको थियो। उठाउन पाइरहेकी थिइनन्।

म्यासेन्जरमा रिगलले आममाफी पाएको सन्देशसहितको भिडिओ आयो। हेर्दाहेर्दै भारतीका आँखा भरिए। केही बोल्न सकिनन्। एकोहोरो रोइरहिन्। धेरैबेर रोएपछि भारतीलाई राष्ट्रपति पौडेलको फोटो हेर्न मन लाग्यो। गुगलमा सर्च गरिन्। राष्ट्रपतिका थुप्रै किसिमका तस्बिर आए। सबै तस्बिरमा उनी शालीन देखिन्थे। भारतीको मनमा आयो, ‘देख्दा शालीन लाग्ने यस्तो मान्छेले कसरी सक्यो मान्छे मार्नेलाई आममाफी दिन?’

उनको प्रश्नको उत्तर दिने को थियो र ? उनी एकाएक बर्बराइन्, ‘ममाथि ठूलो अन्याय भयो।’ जनतालाई परेको अन्याय हेरेर न्याय दिनु-दिलाउनु सरकारको काम हो। तर, सरकारले नै गरेको अन्यायविरुद्ध कहाँ गएर न्याय माग्ने ? भारतीलाई थाहा छैन। अन्ततः भारतीले अरु धेरैले न्यायका लागि आवाज उठाउने गरेको माइतीघर मण्डलालाई रोजिन्। उनी बुधबारदेखि न्याय खोज्दै अनशनमा छिन्।

१४ वर्षमै प्रेम विवाह गरेकी भारतीले २० वर्ष लाग्ला नलाग्दै एक्लो हुनुपर्‍यो। ३ वर्षका दूधे बालक टुहुरा भए। त्यसले भारतीको मनःस्थिति खल्बलियो। मानसिक अवस्थामा कहिल्यै चैन भएन। लामो समय उनको काठमाडौंमा ल्याएर उपचार गरियो। भारती सम्झिन्छिन्, ‘त्यतिबेला मेरा हातखुट्टा अस्पतालको बेडमा बाँधेर राखिएको हुन्थ्यो।’

उनले छोरालाई सम्झिइन्, हत्याराले पाएको जन्मकैदको सजाय सम्झिइन्, आफूलाई जीवनको सामान्य लयमा फर्काउने कोसिस गरिन्। मानसिक रूपमा स्थिर बन्ने प्रयासमै उनले नियमित औषधि खाइन्।

तर, रिगलको कैद मिनाहा दिने सरकारको निर्णयले झन् ठूलो वज्रपातको अनुभव गरेकी छन् उनले। यस अन्यायपूर्ण व्यवस्थाभित्र बसेर आफू बाँच्नु नै व्यर्थ ठानिरहेकी छन्।

बुधबार भारती ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छिरिन्। सरकारको निर्णयविरुद्ध दायर गरेको रिटको तारेख लिन सर्वोच्च पुगेकी उनी त्यहीँ बेहोस भएर ढलिन्। त्यसपछि वीर अस्पताल भर्ना भएकी उनी बिहीबार फेरि अनसनस्थलमा हाजिर भइन्।

राष्ट्रपतिले माफी दिएर ‘गुन्डा नाइके’ छुट्दा उत्सव, गाडीको लस्करसहित कारागारमै पुगे समर्थक उनले सुनेकी छिन्, आफ्नो निवेदनमाथि सुनुवाइ सुरु भएको छ। तर न्याय पाइन्छ भन्नेमा ढुक्क हुन सकेकी छैनन्। ‘हिजो अदालतमा पस्दा मनमा धेरै नराम्रा कुरा आए। न्यायका लागि हिजो त्यही अदालतमा निकै कठिन संघर्ष गर्नुपरेको थियो, आज फेरि न्याय माग्दै उही केसमा अदालत पस्नुपरेको छ।’

‘रिगललाई सजिलै सजाय तोकिएको थिएन’, उनी भन्छिन्, ‘अब त म निकै कमजोर भइसकेछु। मलाई मेरो स्वास्थ्य र अवस्थाले जहिलेसम्म साथ दिन्छ, लडिरहन्छु।’ न्यायका लागि आवाज उठाएसँगै उनको परिवारलाई फेरि धम्की आउन थालेको छ। छेउमा बसेका आफन्तलाई तारन्तार फोन आइरहन्छ। फोनको घण्टीसँगै भारती भयभीत हुन्छिन्, झस्किन्छिन्।

उनैलाई अहिलेसम्म कसैले फोन गरेका छैनन्। माइतीघरका चर्का नारासहित स्थानीय तहका कर्मचारीहरुको भीडमा हराइरहेकी भारती आफैँसँग झिँजो मानिरहेकी छन्। त्यहीमाथि फरक फरक मान्छेले पटक–पटक सोधिरहने एकैखाले प्रश्नले बिथोलिरहन्छ, चिथोर्छ। भीडबाट प्रश्न आउँछ, ‘यतिका वर्ष कहाँ हुनुहुन्थ्यो? किन बाहिर आउनु भएन?’

भारतीलाई चिच्याउन भन्न मन छ, ‘म आफ्नो जीवन निर्वाहको दौडधूपमा थिएँ, पीडक जेलमा भएकाले न्यायको प्रत्याभूति थियो। सरकारलाई धन्यवाद दिएर बसिरहेकी थिएँ। तर फेरि अन्याय भयो, अनि न्याय माग्न निस्किएकी हुँ।’ तर अलिकति बोल्नासाथ उनको सास रोकिन खोज्छ, मुटुको धड्कन बढ्छ र होस हराउँछ। त्यसैले उनी मलिन सुनिन्छिन्।

अहिलेसम्म भारतीको अवस्था बुझ्न सरकारी निकायका कोही आएका छैनन्। ठूला दलका नेता-कार्यकर्ता कसैले म साथमा छु भनेका छैनन्। सरकारले अन्याय गरेपछि अब एउटै आस अदालतसँग छ। उनले अदालतकै बाटो हेरिरहेकी छन्। नेपालमा न्याय जिउँदो छ कि छैन? एक मुठी मानवता बाँकी छ कि छैन? अदालतको आदेशमा त्यसको जवाफ पाउने अपेक्षा उनले गरेकी छन्। nepalkhabar