सीता एयरले ठक्कर दिँदा घाइते भएका स्टेशन प्रमुखको वि एण्ड वि अस्पतालमा उपचार हुँदै

by

in

मुगुस्थित रारा विमानस्थलमा बिहीबार जहाजको पंखाले छुँदा घाइते भएका सीता एयरका मुगु स्टेशन प्रमुख धीरेन्द्र भामको ललितपुरको ग्वार्खोस्थित वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ । घाइते भएपछि अचेत अवस्थामा रहेका उनलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार बिहीबार विहान ११:३० बजेतिर रारा विमानस्थलबाट नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको दाया पट्टिको पङ्खाले भामलाई छोएको थियो ।

भामले चालकलाई जहाज उडान गर्न संकेत गरिरहेका थिए । जहाजको इन्जिन स्टाट भइरहेका बेला चालकले बोलाएपछि भाम जहाजको चालक कक्षतर्फ गइ चालकसँग कुराकानी गरि फर्कँदै गर्दा घुम्न सुरु गरेको पंखाको छेउले छुँदा उनी घाइते भएका थिए ।

घाइते भामको पाखुरा,हत्केला, औलामा पंखाको छेउले काटेको र नेपालगन्ज नर्सिङ होमले रिफर गरेपछी काठमाडौं ल्याइ उपचार भइरहेको र अहिले उनी खतरा मुक्त अवस्थामा रहेको भनि चिकित्सकहरुले बताएको भामका साला प्रेमराज कार्किले टेलिफोनमा जनाए ।