आफ्नै भिनाजुसँग एक करोडको बार्गेनिङ, पैसा नपाएपछि बलात्कारको मुद्दा !

by

in

काठमाडौँ । धादिङका पूर्ण बहादुर बुढाथोकी पेसाले सिभिल इञ्जिनियर हुन् । कामको सिलसिलामा अधिकांश समय काठमाडौं बाहिर बस्नुपर्ने हुँदा घरमा उनकी आमा, पत्नी र छोरामात्रै हुन्थे । हाइड्रोमा काम गर्ने इञ्जिनियर भएका कारण अधिकांश समय लमजुङ, पर्वत लगायतका जिल्लामा हुन्थे उनी । २०७२ सालमा पूर्णकी श्रीमती सरिता थापा (नाम परिवर्तन) गर्भवती भइन् । त्यसपछि पूर्णकी सासु स्युचाटारमा रहेको डेरामै आएर छोरी सरिताको हेरबिचार गर्न थालिन् । डेरामा पूर्णकी आमा पनि सँगै थिइन् ।

त्यही समयमा धादिङको गंगाजमुना गाउँपालिका– ७, बुढाथुमकी करुणा थापा (नाम परिवर्तन) एकाएक दिदी सरितालाई भेट्न भनेर डेरामा आइपुगिन् । सरिताको ठूलोबुबाको छोरी तथा नाताले बहिनी पर्ने भए पनि गाउँमा उनीहरुबीच त्यस्तो राम्रो हिमचिम थिएन । सरिताको घरबाट करिब ४५ मिनेटको दूरीमा करुणाको घर भएको र विद्यालय पनि फरकफरक भएका कारण उनीहरुबीच हिमचिम थिएन । यद्यपि सरितालाई करुणाबारे जानकारी थियो ।आफू गर्भवती भएको अवस्थामा भेट्न बहिनी आएपछि सरिता पनि खुसी भइन् । कुराकानीकै क्रममा करुणाले ‘दिदीलाई गाह्रो छ, म केहीदिन यहीँ बस्छु’ भनिन् । त्यतिबेला सरिताको गर्भ ८ महिना भइसकेको थियो ।

करुणा दुई–तीन दिन सरिताकोमा बस्ने र फेरि दुई–तीन दिन आफ्नो डेरामा जाने गर्थिन् । सरिताले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएपछि पनि केही समय करुणा आउने र जाने गरिरहन्थिन् । सरिता सुत्केरी भएको करिब २ महिनापछि भने करुणा ‘परीक्षा छ, अब आउँदिनँ’ भनेर आफ्नै डेरामा गइन् । त्यसको करिब ६ महिनापछि एकाएक सरिताकी आमालाई ‘करुणाले विष सेवन गरेकाले अस्पतालमा उपचार भइरहेको छ’ भनेर फोन आयो । त्यसपछि सरिताको आमा स्वयम्भुस्थित मनमोहन अस्पतालमा पुगेर करुणाको हेरचाह गरिन् । उनले वास्तवमा विष सेवन गरेको नभई आफूले भनेको जस्तो नगरिदिएको कारण आमाबुबालाई रिस देखाउन आफूले खाइरहेको औषधिको मात्रा धेरै खाएर अचेत भएकी थिइन् । त्यतिबेला उनकी दिदी पनि काठमाडौंमै थिइन् ।

सुरुमा विष सेवन गरेको भनेर अत्तालिएर अस्पताल पुगेकी सरिताकी आमाले करुणाको उपचारपछि उनलाई आफ्नै घरमा लिएर आइन् । त्यतिबेला सरिता पनि माइतीघरमै थिइन् ।सरिताको छोरी करिब ८ महिनाको भइसकेकी थिइन् । करुणा पनि बिस्तारै निको हुँदै गइन् र त्यहीँ बसेर दिदीलाई सहयोग गर्न थालिन् । सरिताको पति पूर्ण भने कामको सिलसिलामा धेरैजसो बाहिरै हुन्थे । कहिलेकाहीँ आउने क्रममा पूर्ण र करुणाबीच चिनजान भएको थियो । पूर्ण धेरैजसो बाहिर हुने हुँदा सरिता पनि माइतीमै बस्न थालिन् । पूर्णको डेरामा भने बुढीआमा मात्रै थिइन् । करुणा सोही समयमा पूर्णकी आमासँग पनि नजिक भइन् ।

चिनजानपछि साली–भेना नजिकिन थाले । पूर्णले साली करुणाका लागि जागिर खोजिदिए, गर्ने अन्य सहयोग पनि गरे । उनलाई स्कुटर सिकाइदिए, आफूसँग रहेको स्कुटर पनि चलाउन दिए । सरिताले करुणालाई अब आफ्नै डेरामा जान भनिन्, तर पनि करुणा भने भिनाजु (पूर्ण) धेरैजसो बाहिर हुने भएकाले आमाको हेरचाह गर्छु भन्दै पूर्णको कलंकीमा रहेको डेरा कोठामै बस्न थालिन् । सरिताका अनुसार पूर्णले एकदिन फोन गरेर बहिनीले ‘लिमिट क्रस’ गरेको भन्दै सम्झाइदिनका लागि सरितालाई भने । तर कस्तो ‘लिमिट क्रस’ गरेको हो भनेर पूर्णले खुलाएनन् । सरिताले धेरै पटक सोधेपछि पूर्णले करुणा आफूतिर लागेको र मन पराएको कुरा गर्न थालेको भन्दै सम्झाउनका लागि भने । सरिताले उक्त कुरा करुणालाई भनिन् । तर करुणाले त्यस्तो केही नभएको र भिनाजुसँग सामान्य जिस्केको मात्रै भनेर टारिन् ।

तर कुरा यहीँ रोकिएन । पूर्ण रातको समयमा आफ्नो कोठामा सुतिरहेको अवस्थामा करुणा पूर्णको कोठामा प्रवेश गरिन् र सँगै सुतिन् । बिउँझिएपछि पूर्णले आफूसँगै साली आएर सुतेको थाहा भएपछि ‘यो के गरेको ?’ भनेर सोधे । करुणाले आफूले मन पराएको भन्दै बाहिर निस्कनै खोजिनन् । पूर्णले त्यसको भोलिपल्ट नै सरितालाई करुणाको हर्कतबारे जानकारी गराए । त्यसलगत्तै सरिताले करुणालाई आफ्नो घरबाट तत्कालै निकालिदिइन् । तर जब करुणालाई घरबाट निकालियो, तब सुरु भयो सरिता र पूर्णको टाउको दुखाइको दिन । करुणालाई घरबाट निकालेपछि करुणाले पूर्णसँग ‘ब्ल्याकमेल’ गर्न थालिन् । आफूले भनेको जस्तो नगरिदिए बलात्कारको मुद्दामा फसाइदिने भन्दै टर्चर दिन थालिन् ।

अनावश्यक तनाब लिनुभन्दा साली हो भनेर पूर्णले सुरुसुरुमा श्रीमती सरितालाई समेत केही नभनी रकम दिइरहे । तर करुणाको ‘ब्ल्याकमेल’ दिनदिनै बढ्दै गयो । हुँदाहुँदा सरितालाई डिभोर्स दिएर आफूसँग विवाह गर्न दबाव दिन थालिन् । तर दुई सन्तानका पिता पूर्णले करुणाको प्रस्ताव अस्वीकार गरे । करुणाले उनलाई तनाब दिन छाडिनन् । सरिता थापाका अनुसार करुणा २०७६ फागुन महिनादेखि घरमा आएर झगडा गर्ने र पूर्णले श्रीमती बनाउनुपर्ने भन्दै दबाब दिन थालिन् । २०७६ सालको फागुन महिनामै करुणाले ‘ब्ल्याकमेल’ गरी एकाएक चितवनको कुरिनटारमा रहेको एक रिसोर्टमा पुगेको र पूर्ण त्यहाँ नआएमा आफूले आत्महत्या गर्ने र त्यसको सबै दोष पूर्णमा जाने भनेर धम्की दिइन् ।

पूर्णले त्यो कुरा आफूलाई बताएपछि आफूले नै कुरिनटार गएर सम्झाएर करुणालाई घर ल्याउन आग्रह गरेको सरिताले बताइन् । सरिताले रातोपाटीसँग भनिन्, ‘तत्कालीन समयमा मेरा पति रहेका पूर्णले त्यहाँ जानुभन्दा अगाडि नै मलाई उक्त कुराबारे जानकारी गराएका थिए, मैले त्यहाँ गएर सम्झाएर ल्याउनुस् भनेको हुँ । त्यसपछि त्यहीँ शारीरिक सम्पर्क भएको रहेछ, त्यो कुरा मलाई पूर्णले त्यसको धेरैपछि मात्रै जानकारी गराए ।

जब करुणा र पूर्णबीच आपसी सहमतिमै यौनसम्बन्ध भयो, त्यसपछि करुणाले झनै धेरै ‘ब्ल्याकमेल’ गर्न थालेको सरिताले बताइन् । उनले भनिन्, ‘मेरो बहिनी हो भनेर मैले पनि धेरैपटक सम्झाएँ । तर उनी तेरोमात्रै पोइ हो र ? मेरो पनि हो भन्दै उल्टै मलाई नै गालीगलौज गर्थिन्, मुखमा जे आयो, त्यही बोल्थिन् । प्रत्येकपटक पैसा माग्थिन् । पूर्णले दिनु भनेर मैले नै धेरैपटक करुणालाई पैसा दिएको छु । यकिन रेकर्ड राखेको छैन, तर बैंकबाट झिकेर पटकपटक गरी मैले नै १५÷१६ लाख दिएको छु । कतिपय रकमको रेकर्डसमेत मैले राखेको छु । मैले मेरो आमाको पेन्सनबाट आएको रकमसमेत करुणालाई दिएको छु ।’

सरिताका अनुसार पछिल्लो समय करुणाले एक करोड रुपैयाँको माग गर्न थालेकी थिइन् । करुणाले नातामा ठूलोबुबा पर्ने अधिवक्ता भोज बहादुर केसीको उक्साहटमा परेर एक करोड रुपैयाँको माग गरेको र रकम दिन नसक्ने भएपछि बलात्कारको जाहेरी दिएको सरिताले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय करुणाले एक करोड मागेकी थिइन् । हामी पनि पैसा दिँदादिँदा आजित भइसकेका थियौँ । हामीले एक करोड दिनसक्ने अवस्था थिएन । त्यसपछि उनले २०७९ फागुन १२ गते प्रहरी वृत्त बालाजुमा बलात्कारको जाहेरी दिएकी रहिछिन् ।’

सरिताका अनुसार उनले पनि करुणाको तनाबका कारण श्रीमानसँग सँगै बस्न नसक्ने भएपछि छोराछोरीको आर्थिक दायित्व पूर्णले नै लिने गरी २०७९ असार महिनामा सम्बन्धबिच्छेद गरिन् । पूर्णको बसोबास काठमाडौंमा नहुने भएकाले छोराछोरी आफूसँगै रहेको सरिताले बताइन् । उनले भनिन्, ‘छोराछोरीको खर्च भने उहाँले नै दिने गर्नुभएको थियो ।’ कामकै सिलसिलामा एउटा ट्रेनिङका लागि चीन गएर फर्किएपछि पूर्णलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर प्रहरी वृत्त बालाजुमा ल्यायो । त्यसपछि करुणाले दिएको जाहेरीका आधारमा पूर्णविरुद्ध जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चल्यो र यतिबेला पूर्ण पुर्पक्षका लागि थुनामै छन् । करुणाले प्रहरी वृत्त बालाजुमा दिएको जाहेरीमा २०७८ मंसिर ४ गते आफूमाथि बलात्कार भएको दाबी गरेकी छन् । यद्यपि जाहेरी भने १५ महिनापछि अर्थात् २०७९ फागुनमा मात्रै दिएकी छन् ।

करुणाले दिएको जाहेरीमा भनिएको छ,
‘प्रतिवादी पूर्ण बहादुर बुढाथोकी मेरो माईला बाको छोरी ज्वाइँ हुन् । निजले मलाई मिति २०७८।०८।०४ गते घुम्न जाउँ भनि का.जि तारकेश्वर न.पा ३ स्थित लब्ली रेष्टुरेण्टको कोठा नं. ९ मा खाजा नास्ता गर्ने भनी लगी मलाई ललाई फकाई प्रलोभनमा पारी मेरो स्वीकृति नहुँदा नहुँदै मलाई कुटपिट लछारपछार पारी मेरो कुमारित्व भङ्ग गरी जबरजस्ती करणी गरेकोमा मैले निजलाई कानुनी कारबाहीको कुरा गर्दा प्रलोभन दिई विवाह गर्ने, आधा अंश दिने आदि प्रलोभन दिएका र सो प्रलोभनका कारण निजले मलाई पटक पटक जबरजस्ती करणी गर्दै आएका छन् ।’*

पहिले एक करोडको बार्गेनिङ, पैसा नपाएपछि श्रीमती स्वीकार गर्न लगाइयो
करुणाले पूर्णविरुद्ध जबरजस्ती करणीको कसुरमा जाहेरी दिनुभन्दा पहिले २०७८ चैत महिनामै करुणा र पूर्णबीच विवाद भएको देखिन्छ । करुणाले पूर्ण ससुराली घरमा गएको अवस्थामा ससुराली घरमै गएर रातको समयमा विवाद गरेपछि पूर्णकी तत्कालीन समयमा पत्नी रहेकी सरिताले प्रहरीको कन्ट्रोल रुममा खबर गरेकी थिइन् । त्यसपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी आई करुणा र पूर्णलाई प्रहरी वृत्त कीर्तिपुरमा लगेको थियो ।

तर प्रहरी वृत्तमा पुगेपछि करुणाले एकाएक विवादको विषय बङ्ग्याएर आफूमाथि जबरजस्ती करणी भएको बताइन् । प्रहरीले करणी कुन स्थानमा भएको हो भनेपछि करुणाले प्रहरी वृत्त बालाजुको कार्यक्षेत्रमा पर्ने स्थानमा करणी भएको बताइन् । त्यसपछि कीर्तिपुर प्रहरीले करुणा र पूर्णलाई प्रहरी वृत्त बालाजुमा पठाइदियो । २०७८ चैत २४ गते पक्राउ परेका पूर्णविरुद्ध करुणाले चैत २५ गते बेलुका बालाजु प्रहरीलाई ठाडो निवेदन दिएर आफूमाथि बलात्कार भएको बताइन् । तर प्रहरीले जाहेरीकै रुपमा ल्याउन भनेपछि करुणाले एक करोड रुपैयाँ पाए बलात्कारको केस नहाल्ने पूर्णलाई बताइन् ।

तर पूर्णले आफूले बलात्कार नगरेको र एक करोड रुपैयाँ दिन नसक्ने बताए । सरिताका बुबा ध्रुव थापाका अनुसार त्यसपछि त्यहाँ नाताले करुणाको ठूलोबुबा पर्ने अधिवक्ता भोज बहादुर केसीको प्रवेश भयो । केसी नै अग्रसर भएर पूर्ण र उनका श्रीमती तथा ससुरासामु तीनवटा शर्त राखे । पहिलो शर्तमा एक करोड रुपैयाँ मागियो । दोस्रो शर्तमा अमेरिका, जापान लगायतका देशमा बस्ने युवक वा नेपालमै राम्रो आर्थिक हैसियत भएका युवक खोजेर विवाह गरिदिनुपर्ने र तेस्रो शर्तका रुपमा श्रीमती स्वीकार गर्नुपर्ने । तीनवटै शर्त नमाने ‘बलात्कारको केसमा १० वर्ष जेलमा कोचिदिने’ भन्दै केसीले धम्की दिएपछि पूर्ण तेस्रो शर्त स्वीकार गर्न बाध्य भए ।

त्यसपछि अधिवक्ता भोज बहादुर केसीले नै पूर्णकी श्रमिती सरिता थापा र ससुरा ध्रुव बहादुर थापालाई साक्षी राखेर बहुविवाह लाग्ने लिखत तयार पारे । उक्त लिखत अधिवक्ता केसीले नै तयार पारेका थिए भने त्यहाँ करुणा र पूर्णले हस्ताक्षर गरेका छन् । साक्षीका रुपमा पूर्णका ससुरा ध्रुव बहादुर थापा र श्रीमती सरितालाई साक्षी राखिएको थियो । लिखतमा ४५ दिनभित्र आधिकारिक निकायमा विवाह दर्ता गरिनुपर्ने कुरासमेत उल्लेख छ ।