बास वसेको घरमा शिक्षकले गरे विद्यार्थीमाथि बलात्कार, उजुरी फिर्ता लिन नमान्दा गोली प्रहार

by

in

राजविराज– २१ वैशाखामा १२ कक्षाको परिक्षा दिएर फर्किँदै गर्दा गोली प्रहारबाट घाईते भएकी उदयपुरकी प्रियसना अहिले पनि झापाको दमक स्थित लाइफलाइन अस्पतालमै छिन्। उपचार पुरा भएर डिस्चार्ज भएपनि उपचारमा लागेको खर्च तिर्न नसक्दा अस्पतालले उनलाई घर जाने अनुमति दिएको छैन।

परीक्षा सेन्टरबाट कोठा जाँदै गर्दा दमक नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक भवन अगाडि उनीमाथि गोली प्रहार भएको थियो। प्रहरीका अनुसार प्रियसनाका पूर्वशिक्षक सिरहाका अमितकुमार यादवले ज्यान मार्ने उदेश्यले उनिमाथि गोली प्रहार गरेका थिए।

घाँटीमा ताकेर हानेको गोली पेटमा दर्फर्याउँदै ज्याकेटमा अड्किएको थियो। गोली भित्र पस्न नपाएकाले उनको ज्यान वच्यो, तर, गोलीको छर्रा पेटभित्र पसेर आन्द्राको ७ ठाउँमा प्याल पारेको थियो। प्रहरीका अनुसार यो प्रकरण २ वर्षअघिको बलात्कारको घटनासँग जोडिएको छ।

गोली प्रहार गर्ने अमितकुमार सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ का बासिन्दा हुन। उनले प्रियसनालाई बलात्कार गरेको भन्दै उनकी दिदीले ५ साउन ०७९ मा जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन। जाहेरीपछि फरार भएका यादवले प्रियसना र उनको परिवारलाई जाहेरी फिर्ता लिन दबाब दिदै आएका थिए।

फकाउने, घुर्क्याउने र ज्यान मार्नेसम्मको धम्की दिँदा पनि मुद्दा फिर्ता लिने कुरामा प्रियसना र उनको परिवार राजी नभएपछि यादव उनीहरुको ज्यानको दुस्मन भएको देखिएको छ। पछिल्लो पटक प्रियसनाको डेरा र परीक्षा सेन्टरको सुराक पाएका यादवले बाटो छेकेर उनीमाथि गोली प्रहार गरेका थिए।

मास्क र हेल्मेट लगाएर उभिएका यादवले बाटो छेकेपछि पहिलो पटक प्रियसनाले उनलाई चिन्न सकिनन्। तर, समातेर तान्न थालेपछि भने उनले यादवलाई चिनिन्। घाँटीमा पेस्तोल तेर्स्याएर ‘मुद्दा फिर्ता लिने कि नलिने ?’ भनेपछि प्रियसनाले यादवलाई चिनेकी हुन। मुद्दा फिर्ता लिने कुरामा सहमति नजनाएपछि भ प्रियसनाको घाँटीमा गोली प्रहार गरेको देखिएको छ।

तर, प्रतिकार गर्ने क्रममा प्रियसना भुईमा लड्दा बन्दुकको गोली पेटमा लाग्यो। पेटको दायाँदेखि बायाँसम्म पूरै दरफराएको निसान त्यतिवेलै देखिएको थियो। गोली प्रहार गरी यादव फरार भए भने प्रियसनालाई अस्पताल पुर्याईयो।

जानकारी अनुसार उदयपुरको विकट गाउँको विपन्न परिवारकी प्रियसनाले ०७९ मा एसईई दिएकी हुन। उनले एसईई दिँदा अमितकुमार यादव लिम्चुङबुङ–३ बाराहास्थित महेन्द्र मावि सिर्वानीमा अंग्रेजी र गणित शिक्षकका रुपमा कार्यरत थिए। करारमा जागिर खाँदै गरेका यादव शिक्षकका नाताले किशोरी र उनको परिवारसँग नजिक भए।

प्रियसना एसईई सकेर कम्प्युटर सिक्न गाईघाट झरेकी थिइन। आफन्तको घरमा वसेर कम्प्युटर सिकिरहेकी उनलाई लिन २७ असार ०७९ बुबा गाईघाट पुगे। उनी यादवकै मोटरसाईकल चढेर गाईघाट पुगेका थिए। प्रियसना यादवकै मोटरसाईकलमा चढेर घर जान हिडिन। बाटोमा रात परेपछि बास वस्नु पर्ने अवस्था आयो। यही मौका छोपेर बास बसेकै घरमा यादवले प्रियसनालाई बलात्कार गरेको प्रहरीमा रहेको जाहेरीमा उल्लेख छ।

जाहेरी परेपछि त्यतिवेलै प्रहरीले अनुशन्धान सकेर यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनी प्रहरीको फरार सुचिमा छन्। यही प्रकरण वढ्दै जाँदा गोली काण्डसम्म पुगेको प्रहरीले जनाएको छ। गोली प्रहार गरेर फरार भएका यादव अझै पक्राउ परेका छैनन्। उनी भारतमा लुकेको हुनुसक्ने आशंकामा भारतीय प्रहरीसँग पनि समन्वय भईरहेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए।