युके, दुबई र माल्दिभ्समा रोजगारीका लागि पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३ जना पक्राउ

by

in

काठमाडौं : विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको हो।

उनका अनुसार मोरङ उर्लाबारी नगरपालिका-९ घर भई हाल जिल्ला ललितपुर महानगर-२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुले रविन सैजु समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि युके पठाईदिने प्रलोभन देखाएर २९ लाख ठगी गरेको आरोपमा पक्राउ परेकी हुन्। उनले प्रतिव्यक्ति २३ लाख रुपैयाँ लाग्ने र मासिक ४ लाख बीस हजार रुपैयाँ तलब हुन्छ भनी पीडितहरुबाट पटक पटक गरी उक्त रकम लिइ फरार भएकी थिइन्। पीडितसँग सम्पर्क बिहीन भएपछि प्रहरीले उनलाई भैसेपाटीबाट पक्राउ गरेको रेग्मीको भनाई छ।

यसैगरी दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने नवलपरासी कावासोती नगरपालिका- १७ घर भई हाल जिल्ला काठमाण्डौं टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ४४ वर्षीया सुशिला राईलाई समेत पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रेग्मीका अनुसार भिम बहादुर सिंहसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै पटक पटक गरी ५ लाख ७५ हजार रुपैयाँ रकम लिई फरार रहेकी राईलाई प्रहरीले पक्राउ गरेको हो। उनले मासिक १ लाख तलब हुने प्रलोभनमा पारेका थिइन्। उनलाई ग्राण्डीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

यसैगरी माल्दिभ्स पठाईदिन्छु भनी रकम ठगी गर्ने म्याग्दी बेनी नगरपालिका – ४ घर भई हाल काठमाण्डौं टोखा नगरपालिका-६ बस्ने ३८ वर्षीय सुनिल शाहीलाई प्रहरीले पक्राउ गरेको छ। रेग्मीका अनुसार शाही सुन बहादुर गोलेलाई वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाउने भन्दै पटक पटक गरी ३ लाख ५० हजार रुपैयाँ रकम लिई फरार भएका थिए। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो।