होन्डाका मोटरसाइकल र स्कुटर नेपालमै बन्ने

by

in

काठमाडौं । जापानी मोटर तथा स्कुटर निर्माता होन्डाका मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल सुरु भएको छ । कम्पनीले भाेलि फागुन २३ गते एक कार्यक्रम आयोजना गरी होन्डाको नेपाल प्लान्ट संचालनमा ल्याउन लागेको हो ।

जापानबाट होन्डा प्लान्ट निरिक्षण कार्य सम्पन्न भएसँगै नेपालमै एसेम्बल सुरु गर्न लागिएको कम्पनी स्रोतले बतायो ।

‘अहिले हाम्रो प्लान्ट परिक्षणको काम सम्पन्न भएको छ । अब नेपालमै होन्डाका मोटरसाइकल र स्कुटर एसेम्बल सुरु हुन्छ । यहाँ एसेम्बल भएका उत्पादन केही समयपछि बजारमा आउँछ’, स्याकार ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।

स्याकार टे«ेडिङ कम्पनीले बिक्री वितरण गर्दै आएको होन्डाका मोटरसाइकल एसेम्बल गर्न नयाँ हिमाल मोटो प्रालि नामक कम्पनी बनाइएको छ । उक्त हिमाल मोटोले भैरहवा करिडोरमा पर्ने रुपन्देहीको रोहिणी गाँउपालिकामा वडा नम्बर ४ मा प्लान्ट स्थापना गरेको हो ।

करिब १० विगाह जमिनमा निर्माण गरिएको प्लान्टमा झण्डै एक अर्ब रुपैयाँ लगानी भएको बताइन्छ । कम्पनी पूर्ण क्षमतामा संचालन भएसँगै २०० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । प्लान्टको वार्षिक उत्पादन क्षमता १ लाख यूनिटसम्म रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले नेपालमा सुरुमा कुन कुन मोडल एसेम्बल गर्छ, त्यो विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर ल्याएको छैन । बिक्रीको हिसावले सबैभन्दा धेरै बिक्री हुने डिओ स्कुटर र साइन मोटरसाइकल सुरुमा एसेम्बल गर्ने हाम्रो अनुमान रहेको छ ।