तीन नम्बर पुलमा यात्रुबस दुर्घटनाः ३० यात्रु घाइते, दुई गम्भीर

by

in

सिमराः पथलैया–हेटौडा सडकखण्ड अन्तर्गत जीतपुरसिमरा २२ स्थित तीन नम्बर पुलको बजार नजिक मंगलबार यात्रुबस दुर्घटना हुँदा ३० यात्रु घाईते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका २२ यात्रुको अहिले उपचार भईरहेको र जसमध्ये दुई जनालाई आइसियुमा राखिएको छ । उनका हेटौंडामा १८ जना र अमलेखगञ्जमा चार यात्रु उपचाररत छन् । अन्य सामान्य घाइते भएका यात्रु घर फर्किएका छन् ।

हेटौडाबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको यात्रुबस तीन नम्बर पुलको बजार छेउको खोलामा खसेको हो । घटनालगत्तै स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए ।

घटनालगत्तै पुगेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गाडीले समेत पाँच यात्रुलाई उद्धार गरी अस्पताल लगेको थियो । हेटौंडाबाट फर्कने क्रममा दुर्घटना भएको देखेपछि पाँच जनालाई उद्धार गरेर तत्कालै हेटौंडास्थित अस्पताल लगिएको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । घाइतेको उपचार सुरु भएपछि महानगरको गाडी वीरगन्ज फर्किएको छ ।