दार्चुलामा बुढी लखेटेर पुलिसलाई चक्कु हान्ने भगौडा कुँवर पक्राउ, ३ मुद्दामा प्रतिवादी

by

in

धनगढी : दार्चुलामा पक्राउ गर्न गएका बेला प्रहरीलाई नै आक्रमण गर्ने युवक समातिएका छन्। आज (सोमबार) प्रहरीले फरार रहेका जिल्लाको महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवर खलंगाबाट समातिएका हुन्।

माघ ७ गतेका दिन उनले २ जना प्रहरीलाई चक्कु प्रहार गरेर फरार भएका थिए। उनले चक्कु हानेर ड्युटीमा गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका थिए।

उनले आफ्नी बुढीलाई कुट्ने गरेको निवेदन आएकोमा सामुदायिक प्रहरी बाङ्गाबगरबाट ती दुई प्रहरी उनलाई नियन्त्रणमा लिन गएका थिए। तर, प्रहरी पुग्दासम्म पनि उमेशले पत्नीलाई चक्कु समातेर लखेट्दै थिए।

सोही क्रममा प्रहरी पुगेको र उनकी पत्नीलाई बचाउने क्रममा प्रहरीलाई चक्कु लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको थियो। त्यसपछि फरार रहेका उनी आज पक्राउ परेकोमा उनीविरुद्ध जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, अपहरण लगायतका मुद्दा छन्।