सालीनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण’ह्याङगिङ’, बलात्कार भएको देखिएन

by

in

सालीनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण’ह्याङगिङ’, बलात्कार भएको देखिएन

काठमाडौँ : विद्यालयको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेलको मृत्युको कारण ‘ह्याङगिङ’ र बलात्कारको कुनै सङ्केत नदेखिएको पोस्टमार्टम प्रतिवेदन आएको छ।

जिल्ला प्रहरी कार्यालयमा चितवनमा पुगेको पोस्टमार्टम रिपोर्टमा ‘ बलात्कार भएको नदेखिएको, शरीरमा गम्भीर चोट पटक नभएको र गालामा कोतरिएको दाग रहेको तर सो डोरीको हुनसक्ने’ उल्लेख छ।

सालीनको शवको पोस्टमार्टम काठमाडौँको शिक्षण अस्पतालमा रहेको पोस्टमार्टम गृहमा भएको थियो। शनिवार सालीन विद्यालयको होस्टलेको आफ्नै कोठामा मृत फेला परेकी थिइन्।

‘आज आइपुगेको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण’ह्याङगिङ’ उल्लेख छ। शङ्का गरिएका अन्य विषय नदेखिएको लेखिएको छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले भने’ हामी प्रतिवेदनको प्रतीक्षामा थियौँ। घटनाको कारणबारे प्रहरी अनुसन्धानमै छ।’

गत शनिवार किशोरीको शव होस्टलेको कोठामा फेला परेपछि परिवारका सदस्यहरूले बलात्कारपछि हत्याको आशङ्का गरेका थिए। उनीहरूको किटानी जाहेरीको आधारमा प्रहरीले मङ्गलवार विद्यालयका तीन जना ब्यवस्थापकहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

परिवारले गम्भीर अपराधका कारण सालीनको मृत्यु भएको दाबी गरेपछि केन्द्रीय राजनीतिक तहबाट समेत प्रतिक्रियाहरू आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली अनि नेपाली कांग्रेसको केन्द्रले समेत विज्ञप्ति निकालेको थियो। प्रधानमन्त्रीले निष्पक्ष अनुसन्धानका लागि निर्देशन दिएको उल्लेख गरेका थिए। ओलीले गम्भीर घटनामा संयमता अपनाउन आग्रह गरेका थिए भने कांग्रेसले अपराध अनुसन्धान गिजोल्ने मनसायका शब्दहरू राखेर विज्ञप्ति निकालेको थियो।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *