उपचार नपाउँदा ओछ्यानमै थलिइन् पोर्चुगल पुगेकी सुस्मिता

by

in

पोर्चुगल : पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन्। वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा भएकी हुन्। सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्।

गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा उनलाई तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ। दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ। कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ।

हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ। सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ।