होटेलमा छोरी छोडेर आमा अर्कैसँग हिँडेपछि…

by

in

देउखुरी । जब आपत्–विपत् आइलाग्छ, तब सबैले पुकार्छन् आमा । दुःखमा सबैभन्दा धेरै पुकारिन्छ, आमा त्यसैले सन्तानका लागि जुनसुकै आमा पनि ज्यान दिन तयार हुन्छिन् । तर तुलसीपुरमा एउटी अपवाद आमा भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ निवासी २१ वर्षीया अमृता चौधरीले आफ्नी दुई वर्षीया छोरी निशितालाई शुक्रबार लमहीको एक होटलमा छाडेर वेपत्ता भइन् । उनीसँग एक जना पुरुष पनि थिए । उनको मायामा थिइन् अमृता । अमृता गत असोज २२ गते घरबाट छोरीलाई साथमा लिएर निस्केकी थिइन् । बुवा निर्मलजन चौधरीले प्रहरीमा खोजतलासका लागि निवेदन पनि दिएका थिए । प्रहरीले धेरै ठाउँ खोजतलास ग¥यो । तर उनको ठाउँ ठेगाना पत्ता लगाउन सकेन । खोजबिन बीचमै रोकियो । जब लमहीको एक होटलमा नाबालिका छोरीलाई अलपत्र छाडेर गएको वडा प्रहरी कार्यालयमा खबर पुग्यो । त्यसपछि प्रहरीले यस घटनालाई नजिकबाट अध्ययन शुरु ग¥यो ।

शुक्रबार बिहान करिब पौने १० बजे चिया खान भन्दै बच्चासहित एक महिला र एक पुरुष होटलमा पसे । चिया खाए । पोखरा जाने भन्दै टिकट काट्नुपर्ने बताएर बच्चालाई होटलमा छाडेर निस्किए । साढे दश बज्न थाल्यो । ती दुईजना फर्किएनन् । अनि प्रहरीलाई खबर भयो । त्यसपछि बच्चालाई अलपत्र छाडेर गएको घटना बाहिरियो । प्रहरीले ती बालिकालाई आफूसँग राख्यो । आफन्तीको खोजी शुरु भयो । मामा घरकी हजुरआमा राप्ती सोनारी गाउँपालिका–१ निवासी सरिता चौधरी सम्पर्कमा आउनुभयो । अमृता भारत घर भएका सुशान्त गुप्ताको साथमा रहेको खुल्यो । उनी तिनै गुप्तासँग भागेको खुल्न आयो । अमृता र निर्मलजन चौधरीले तीन वर्ष अघि प्रेम विवाह गरेका थिए । निर्मलजनको साथ छोडेर अमृता घरबाट हिंडेकी थिइन् ।

अलपत्र छाडिएकी बालिकाको आँखा, मुख, नाक, खुट्टामा चोट छ । शरीरमा निल डाम छन् । आमाले कुटपिट गरेर घाइते बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । पछिल्लो समय सामाजिक विकृतिको रुपमा बीचमै बच्चा छाडेर आमा भाग्ने क्रम बढ्न थालेको छ । यस प्रकारको घटनाले सामाजिक समस्या बढेको चित्रण गर्छ । ‘कुनै घर परिवारको यस प्रकारको घटना अब सामाजिक समस्याको रुपमा देखा पर्न थालेको छ । प्रहरी कार्यालयमा यस प्रकारका उजुरीहरु पनि आउन थालेका छन्’– वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले भन्नुभयो– ‘आमाको माया, ममता र स्नेहको बारेमा कसले शंका गर्न सक्ला र ?  तर एउटी आमानै निर्दयी बन्दा कस्तो प्रकारको अवस्था आउन सक्छ । अहिले यस्ता सामाजिक समस्याहरु सतहमा आउन थाले । यो गम्भीर र संवेदनशील विषय हो ।’

नाबालिकाको शरीरमा घाउचोट छन् । ती घाउचोटको बारेमा पनि प्रहरीले अनुसन्धान गर्नेछ । ‘कसरी ती चोटहरु लागे । हामीले अनुसन्धान गर्छौं । आमाले कुटपिट गरेको पत्ता लागे यस विषयमा पनि कानुनी कारवाही अघि बढाउँछौं’– उहाँले भन्नुभयो– ‘अहिले हुलिया काटेका छौं । प्रहरी युनिटहरुमा फोटोसहितको विवरण पठाएका छौं । सबै ठाउँमा खोजी भइरहेको छ ।’ पछिल्लो समय पारिवारिक विखण्डन एक सामाजिक समस्याको रुपमा देखा पर्न थालेको जिल्ला बाल संगठनका अध्यक्ष विनोद केसीले बताउनुभयो । घर झगडा र पारिवारिक वेमेलका कारण अवोध बालबालिकाहरु समस्यामा पर्न थालेको भन्दै यस प्रकारको सामाजिक समस्याको गम्भीर रुपमा अनुसन्धान गरेर समाधानका विकल्पहरुमा काम गरिनुपर्ने भनाइ उहाँको छ । ‘परिवारभित्र मेलमिलाप हुनुपर्छ । तर एउटा परिवारभित्रको समस्या सामाजिक समस्या बन्दैछ’– उहाँले भन्नुभयो– ‘यसरी छोराछोरीलाई बीचमै अलपत्र पार्ने हो भने हामी कता जाँदैछौं भन्ने देखाउँछ ।’

आमाको साथ पाउने बेलामा बच्चालाई अलपत्र पार्नु निन्दनीय काम भएको स्थानीय पिंकी सुनारले बताउनुभयो । ‘जति दुःख पर्दा पनि आफ्नो सन्तानलाई हेरेर बाँचेका हुन्छन् आमा तर यहाँ त्यही आमा निर्दयी बनेको देखियो’– उहाँले भन्नुभयो– ‘एउटी आमाले आफ्नो सन्तानलाई यसरी बीचमै छाडेर जान कसरी सकिन् भन्ने लाग्छ ।’