प्रेमिकाका आफन्तले गरे १९ वर्षीय किशोरको घाँटी रेटेर हत्या

by

in

दोलखामा प्रेमसम्बन्धकै कारण एक १९ वर्षीय किशोरको हत्या भएको खुलेको छ ।

गत ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गरी उक्त विभत्स हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।

भण्डारी दलित युवतीसँग प्रेममा थिए । हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका– ५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूले प्रहरीमा भण्डारीको हत्या खुकुरीले घाँटी रेटेर गरेको बयान दिएका छन् ।

दोलखा प्रहरी प्रमुख दीपक खड्काले युवकको हत्यामा उनीहरूको संलग्नता देखिएको र हत्या प्रेमसम्बन्धका कारण भएको बताएका छन् ।

प्रहरीका अनुसार ११ पुसको राति भण्डारी काटाकुटीस्थित १७ वर्षीया प्रेमिकाको घरमा बसेका थिए । गाउँको पूजामा गएका किशोरीका बाबु पुस्कर र ठूलोबुबा ईश्वर नेपाली मादक पदार्थ सेवन गरी घर आइपुग्दा भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

विवादपछि किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली पनि आएका थिए । त्यसपछि तीनैजना मिलेर भण्डारीलाई एकान्तमा लगेका थिए । विशालले घरबाट खुकुरी ल्याई भण्डारीलाई नजिकैको भट्टे भनिने ठाउँमा लगेर घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।