श्रीमती, छोरी र नातिनीको हत्या पछि आत्महत्या गरेका काजीको शव अस्पताल पुर्‍याइयो

by

in

काठमाडौँको सितापाइलामा सामूहिक हत्या गरिएका ३ जनाकै शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

नागार्जुन-६ भैरवटोलमा काजी विश्वकर्मा भनिने राजु घिमिरेले आफ्नै कोठामा हत्या गरेका श्रीमती, छोरी र नातिनीको शव केहीबेर अघि अस्पताल पुर्‍याइएको स्वयम्भू प्रहरी कार्यालयकी प्रमुख डिएसपी पूर्णिमा चन्दले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

यसैगरी, सामूहिक हत्या गरेर जंगलमा आत्महत्या गरेका विश्वकर्माको शव पनि पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या गरेर विश्वकर्माले आत्महत्या गरेका थिए ।

विहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।