दिनभरि सँगै काम गरेर आएका साथीले नै गरे दिपेशको हत्या

by

in

२९ माघ, काठमाडौं । ओखलढुंगाका २३ वर्षीय दिपेश खड्काको टोखा नगरपालिका–६, धापासीस्थित टहरोमा शुक्रबार साँझदेखि नै ताल्चा लागेको थियो ।

बिहानसम्म पनि ढोका खुलेन । दुई जना भएकाले अरुबेला सधैँजसो कोही न कोहीले ढोका खोलेकै हुन्थे । कसैलाई नदेखेपछि पल्लो टहरामा बस्ने छिमेकीले शनिबार बिहान ढोकातिर नजर लगाए ।

ढोकाको तल थोरै खाली ठाउँ थियो, त्यहाँबाट चियाउँदा हात जस्तो देखियो । बोलाउँदा कोही बोलेनन्, त्यसपछि प्रहरी कन्ट्रोल हुँदै प्रहरी वृत्त, महाराजगञ्जमा खबर पुगेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् ।

‘प्रहरी टोली ताला फुटाएर भित्र छिर्दा खाटमुनि घोप्टो परेको अवस्थामा शव भेटियो, छिमेकीहरुसँग सोधपुछ गर्दा शव दीपेश खड्काकै हो भन्ने भयो’, उनले भने, ‘टाउको रगताम्ये अवस्थामा थियो, नजिकै हम्मर पनि भेटियो ।’

घटनास्थलको अवस्थाले खड्काको हत्या भएको निष्कर्षमा पुगेको प्रहरीले टहरामा सँगै बस्ने साथीको खोजी ग¥यो । त्यस क्रममा उनीसँग बस्दै आएका विकास थापा मगर सम्पर्कविहीन रहेको भेटियो ।

‘तत्कालै कोठामा बस्ने व्यक्तिको खोजी सुरु गरेका थियौं, सीसी टीभी र अन्य प्राविधिक पक्षको कभरेज नभएको क्षेत्र भएकाले खोजतलासमा कठिनाइ भएको थियो’, एसएसपी खत्रीले भने, ‘यद्यपि, अनुसन्धानका क्रममा उनीसँगै बस्ने थापालाई खोजतलास गरेर धापासी हाइट क्षेत्रबाट भाग्न लागेको अवस्थामा पक्राउ गर्न सफल भयौं ।’

प्रहरी भन्छ – आर्थिक विवादमा हत्या

पक्राउ गरेर सोधपुछ गर्ने क्रममा उनले आफ्नो कसूर स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

एसएसपी खत्रीका अनुसार, दुवै जना साढे दुई महिनादेखि उक्त टहरामा सँगै बस्दै आएका थिए । त्यहाँ बसेर दिपेशले ‘प्लम्बिङ कन्ट्याक्टर’ र आरोपी विकासले उनको सहायकका रुपमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार, बयान दिने क्रममा विकासले आफूले कामको ज्याला नपाएको बताएका छन् ।

‘पटक पटक पैसा माग्दा उनले नदिई हेप्ने र हप्काउने गरेको भनेका छन्’, एसएसपी खत्रीले भने, ‘घटनाको दिन समेत आफूले पैसा माग्दा निजले सोही व्यवहार गरेकाले आवेशमा आएर नजिकै रहेको हम्मर टिपेर हत्या गरेका भनेका छन् ।’

प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अमर थापाका अनुसार, विकासले हत्यापछि शवलाई खाटमुनि हालेर कोठामा ताल्चा लगाएर भागेको पाइएको छ ।

‘शुक्रबार दिनभरिसँगै काम गरेर बेलुकी साढे ६ बजेतिर खाना बनाएर खाटमा बसेका बेला विवाद भएको देखिन्छ’, उनले भने, ‘त्यसक्रममा मृतकले गाँजा हातमा राखेर केलाउँदै गर्दा हत्या गरेको खुलेको छ ।’

यो विषयमा अझै अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *