सुरही खोलामा बिलायो मलेसियाको सपना एउटै पालिकाका ५ को मृत्यु

by

in

एउटै पालिकाका ५ को मृत्यु
फाल्गुन ४, २०८०भवानी भट्ट
कञ्चनपुर — भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएको थियो । त्यसकै लागि उनी बुधबार घरबाट बिदावारी भएर हिँडेका थिए ।

सुरही खोलामा बिलायो मलेसियाको सपना
तर, उनी मलेसिया त के काठमाडौंसम्म पनि पुग्न पाएनन् । बुधबार कपिलवस्तुमा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए । वैदेशिक रोजगारीमा गएर परिवारको खर्च चलाउने सपना कपिलवस्तुको सुरही खोलामा बिलायो ।

‘जाने बेला बाटोमै भेट भएको थियो, अब फोनमै कुरा गरौंला भन्दै बिदा मागेको थियो,’ भीमदत्त नगरपालिका–१ का वडा सदस्यसमेत रहेका राहुलका छिमेकी भोजराज पाण्डेयले भने, ‘त्यही भेट अन्तिम भयो, बिहानै दुःखद खबर सुनियो ।’ उनी यसअघि पनि वैदेशिक रोजगारीकै लागि दुबईमा बसेर फर्केका थिए । डेढ वर्ष जति घरमा बसेर फेरि जान लागेका थिए ।

आमा सीता र श्रीमती बबिता घटना सुनेपछि बेहोस छन् । होसमा आउनेबित्तिकै राहुलको नाम लिँदै रुन थाल्छन् । फेरि बेहोस भइहाल्छन् । सुरुमा त उनीहरूलाई चोट मात्रै लागेको छ भन्ने जानकारी दिइएको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालभरि खबर फैलिएपछि सबैले थाहा पाउँदा घरमा रुवाबासी सुरु भयो । बुबा शेर, भान्जा विवेक र छिमेकी हरिश बिहानै घटनास्थलतर्फ हिँडेका छन् । ‘बिहानै हिँडेका कतिबेला पुग्छन्, त्यहाँ पनि शव कता राखेको छ, केही थाहा छैन,’ राहुलका ससुरा शंकर पार्कीले भने, ‘हाँसीखुसी सबैले बिदा गरेका थियौं, त्यो खुसी एक दिन पनि रहेन ।’ राहुलका ५ वर्षका छोरा र १ वर्षकी छोरी छन् । तिनै छोराछोरीको भविष्य हेर्दै उनी वैदेशिक रोजगारीमा जान लागेका थिए ।

राहुलले वैदेशिक रोजगारीकै आम्दानीबाट आधा कट्ठा जमिन किनेर घर बनाएका छन् । घरखर्च चलाउनेदेखि बालबच्चा पढाउन समस्या भएपछि उनी फेरि विदेश जान खोजेका हुन् । उनका दाइ रमेश पनि मलेसियामा छन् । दुवैले त्यहीँको आम्दानीले जमिन र घर जोडेका हुन् । वडा सदस्य पाण्डेयका अनुसार दुर्घटनामा बाह्रकुण्डाकै खगेश्वरी खातीको पनि मृत्यु भएको छ । एउटै टोलमा दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको छ । कपिलवस्तु दुर्घटनामा कञ्चनपुरका सात जनाको मृत्यु भएको छ । जसमध्ये भीमदत्त नगरपालिकाका मात्रै ५ जना छन् । ‘निकै दुःखद घटना भयो, अधिकांश युवाले ज्यान गुमाएका छन्,’ भीमदत्त नगर प्रमुख पदम बोगटीले भने । दुर्घटनामा पुनर्वास नगरपालिका–९ बिचफाँटाका एउटै परिवारका दुई जनाको मृत्यु भएको छ । किसन भट्ट र विमलादेवी भट्ट दुवै श्रीमान्–श्रीमती हुन् । पुनर्वास नगर प्रमुख तोयप्रसाद शर्माका अनुसार उनीहरू दुवै काठमाडौंमा बस्ने छोराबुहारी भेट्न जाँदै थिए ।