परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

by

in

परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् ।शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुनेका त थिए । तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् । ‘दुई दिनपछि फेसबुकमा घरकै फोटो देखेँ, फोन गरेर पनि तुरुन्तै घर आउनुपर्ने भयो भन्नुभयो’, उनले सुनाए, ‘त्यतिबेलै कुरा बुझिसकेको थिएँ ।’

छोराछोरीको उज्ज्वल भविष्यका लागि भन्दै उनी वैदेशिक रोजगारीका लागि गएका थिए । तर, शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पमा उनले श्रीमती ३० वर्षीया जानुका सुनार, छोरी १३ वर्षीया शर्मिला विक, ९ वर्षीया अञ्जली विक र ४ वर्षीय छोरा उज्ज्वल विक गुमाए । त्यही घरमा जानुकाकी देवरकी छोरी ११ वर्षीया निरुता विक र भाञ्जी ८ वर्षीया विष्णु तिरुवाको पनि मृत्यु भएको थियो ।