काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु, ३२ घाइते

by

in

कपिलबस्तुमा बस दुर्घटना हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा अन्य ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए।

सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२- ००१ ख ००९८ नम्बरको बस गएराति सवा १२ बजे कपिलबस्तुको शिवराज नगरपालिका- १ मा सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो। बस सडकबाट भीर हुँदै स्थानीय सुरही खोलामा खसेको प्रहरीले जनाएकाे छ। घटनास्थल चन्द्रौटाबाट पश्चिम तर्फ पर्छ।

‘अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि चिकित्सकले गरेका छन्,’ एसपी पौडेलले नेपालखबरसँग भने, ‘मृतकको संख्या बढ्ने सम्भावना छ। मृतक र घाइते कसैको पनि नाम खुलेको छैन। म अहिले अस्पतालमै छु। डाक्टरले थप तीन जनाकाे अवस्था चिन्ताजनक छ भनेका छन्।’

घाइतेलाई प्रहरीले उद्धार गरेर स्थानीय सञ्जीवनी अस्पताल, आधारभूत अस्ताल र चौराहा अस्पताल बुटवल पुर्याएको छ। बस चालक पनि घाइते छन्। उनले ब्रेक फेल हुँदा बस सडकबाट खसेको बयान प्रहरीलाई दिएका छन्।

मृतक ६ जनामध्ये एक महिला छिन्। बाँकी पाँच जना पुरुष हुन्। ‘घाइतेमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ,’ एसपी पौडेलले भने।