आफ्नै घरमा छोरीसित प्रेमीसंगै देखे पछि परिवारले प्रेमीलाई खुकुरीले छप्काए

by

in

दोलखामा आफ्नो छोरीलाई आफ्नै घरमा प्रेमीसंगै देखे पछि केटी पक्षका परिवारले प्रेमीलाई खुकुरीले छप्काएर हत्या गरेका छन्। गत पुस ११ गते राति गाउँमा लागेको मेलाबाट फर्किदै गर्दा आफ्नै घरमा छोरीसँग उनका प्रेमी शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई देखे पछि केटी पक्षका परिवारले खुकुरीले छप्काएर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काका अनुसार, गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए । गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो । विवादपछि किशोरीका ठुलोबुबाका छोरा बिशाल नेपाली पनि पुगेका थिए । त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेका थिए ।

उक्त हत्याको अनुसन्धानमा रहेको प्रहरीले करीब डेढ महिना लगाएर गरेको बिस्तृत अनुसन्धान पछि भण्डारीको हत्या उनको प्रेमिकाको परिवारले गरेको निष्कर्ष निकालेको प्रहरीको दाबी छ। उक्त प्रहरी निष्कर्षसंगै प्रहरीले हत्या अभियोगमा शैलुङ गाउँपालिका—५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई पक्राउ गरेर आज सार्वजनिक समेत गरेको छ।

उनीहरुलाई गत पुसमा शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ ।

प्रेमीकाका बुबा शैलुङ गाउँपालिका–५ काटाकुटीका पुरस्कर नेपाली, नेपाल आर्मीमा कार्यरत किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली र स्थानीय इश्वर नेपाली हाल प्रहरीको नियन्त्रणमा छन् ।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्काले युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र सो हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको बताए ।

उनीहरुले ७ कक्षामा अध्ययनरत १७ वर्षीया किशोरीको भण्डारीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती युवक र किशोरीको केही दिन अघि मात्रै गाउँघरकै मेलामा जाँदा भेटघाट र चिनजान भएको र त्यसपछि उनीहरु नजिकिएको तथ्य प्रहरीले पत्ता लगाएको छ।

किशोरीका बुबा र दाजुसँगै साइलो भनिने इश्वर नेपाली पनि मदिरा सेवन गरी घर फर्किदा किशोरीसँग ती युवकलाई फेला पारेपछि खुकुरी प्रहार र कुटपिटगरी युवकको विभत्स हत्या गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।

भण्डारीको शव घाँटि रेटेर अलग गरिएको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा पौष १६ गते शैलुङ गाउँपालिका–५ काटाकुटीस्थित बिरेन्द्र मावी नजिकै बजिनी खोल्सामा फेला परेको थियो । भण्डारीको शव टाउको छुटिएको, अनुहारमा गम्भीर चोट लागेको, देव्रे हातका तीनवटा औंला नभएको, दायाँ हातको बुढी औंला र चोर औंलाको वीचमा चिरिएको अवस्थामा फेला परेको थियो ।