गोमा र वेद बहादुरका दुई सन्तानलाई एउटै रोग, उपचारको लागि सहयोग गर्न अपिल

by

in

दाङ : तुलसीपुर उपमहानगरपालिका ५ रामनगर बस्ने गोमा घर्ती मगर र बद बहादुर घर्तीमगरका एक छोरी र एक छोरी छन् । दुई सन्तान ईश्वरको बरदान भने जस्तै उनीहरूको सानो परिवार दुख, सुख गरी रमाइरहेका थिए । तर, त्यो दुख, सुख गरी रमाउने समय उनीका लागि धेरै दिन रहेन । आज भन्दा करिब ४ वर्ष पहिले १९ वर्षीया छोरी हिरा घर्तीमगरमा एकाएक स्वास्थ्य समस्या देखियो । गोमा र वेद बहादुरले यहाँको स्थानीय अस्पतालमा उपचार गर्न लगे । तर, यहाँ केही सीप नलागेपछि बाँकेको नेपालगन्ज , काठमाडौँ लगे । काठमाडौँमा उपचार गर्दा कलेजमा समस्या भएको भन्ने रिपोर्ट आएको र त्यसपछि औषधि खुवाँउदा शरीरले काम गर्न छाडेको आमा गोमाले बताइन् ।

उनले भनिन्,‘ शुरुमा नानीको शरीर सुनियो, पछि दाहिने हात र खुट्टा चल्ने समस्या भएपछि तुलसीपुर, घोराहीमा उपचार गरेका थियौँ । यहाँ सम्भव नभएपछि त्यहाँ पनि ठिक नभएपछि काठमाडौँ स्थित केएमसी लग्यौँ । त्यहाँ उपचार गर्दा सबै रिपोर्ट ठिक थियो, तर कलेज खराबी भएको रिपोर्ट आएपछि औषधि खुवाउन थालेपछि शरीरले काम गर्न छाड्यो ।’ उनका अनुसार अस्पतालमा उपचार गर्दा ठिक नभएपछि धामीझाँक्री समेत गरिएको थियो । तर, अहिलेसम्म निको भएको छैन् । छोरी कक्षा ८ मा पढ्दा बिरामी भएको भन्दै उनले आर्थिक अभावका कारण घरमा थला परेको समेत बताइन् । उनले भनिन्,‘ हेमन्तपुरमा रहेको शहीद विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा छोरी बिरामी परि । अहिले छोरीसँग पढ्नेहरूले १२ कक्षा पढ्दै छन्, तर, मेरी छोरी हिँड्न, बोल्न सक्दिनन् ।’

गोमा र वेद बहादुरले छोरी बिरामी परेर थला परेपछि अर्को सन्तान करिब १६ वर्षीय कमलको मुख हेरेर चित्त बुझाउँदै आएका थिए । निजी विद्यालयमा पढ्ने कमल सबै कुरामा अगाडि नै थिए । तर, गोमा र वेद बहादुरलाई फेरि अर्को बज्रपात पर्यो, छोरीको जस्तो छोरा कमललाई पनि समस्या देखियो । दुबै सन्तानमा एउटै समस्या देखिएपछि उनीहरु निकै आत्तिए । ज्याला मजदुरी गरेर दैनिक चलाउने परिवारमा एक त पहिले देखि छोरी बिरामी पर्दा उपचार गर्न समस्या भइरहेको थियो, भने फेरि छोरालाई उस्तै समस्या भएपछि साहु ऋण गरेर उपचार गर्न बाँकेको नेपालगन्ज र काठमाडौँ लगे । छोरालाई पनि कलेजमा सस्य देखाएको र औषधि खुवाउँदै छोरीको जस्तो अवस्था भएको गोमाले भक्कानिदै भनिन्,‘ दैव पनि हामीलाई नै लागेको रहेछ । एक पछि अर्को सन्तान बिरामी हुँदा हामीसँग उपचार गर्न पैसा छैन्, पहिला ऋण लिएको पैसा तिर्न सकेका छैनौँ, जसले गर्दा हाम्रा बिरामी सन्तान घर मै थला परेका छन् ।’

उनका अनुसार आर्थिक अभावका कारण राम्रो अस्पतालमा उपचार गर्न लैजान समस्या भएको छ । उनले भनिन्,‘ हामी दैनिक ज्याला मजदुरी गरेर खाने परिवार हौँ । एक जनाले यि दुई छोराछोरीलाई हेर्न ठिक्क हुन्छ । एक जनाले काम गरेर खान ठिक्क हुन्छ । ’ अहिले गोमाका दुबै सन्तान अर्धचेत अवस्था छन्, तर, छोरी छोरीले पढाइमा पाएका पुरस्कार तथा प्रमाण पत्र हेर्दा भक्कानिएर आउने उनको भनाइ छ । यस्तै परिवारमा राम्रो भएपछि मात्र सबैले राम्रो मान्ने भन्दै उनले दुख परेको बेला कसैले साथ नदिने गरेको गुनासो गरिन् ।

यस्तै देब बहादुरले विगत ४ वर्षदेखि आफूहरू निकै पीडामा बाँचिरहेको बताए । उनले छोराछोरी बिरामी हुँदा एक जनाले उनीहरूको हेरचाह गर्न ठिक्क हुने र एक जनाले काम गरेर खान समेत मुस्किल परिरहेको बताए । उनले भने,‘ हामीलाई जस्तो दुख पीडा कसैलाई छैन्, होला । यस्तो कसैलाई पनि नपरोस्, । छोराछोरीको अवस्था देख्दा हाम्रो मन थामिदैन । दिनरात रोएर नै बितिरहेको छ । राम्रो ठाउँमा उपचार गरेर पहिलेको जस्तै देख्ने हाम्रो चाहना भएयता पनि आर्थिक अभावका कारण घरमा थला परेका छन् ।’ यस्तै उनले आफूहरूका छोराछोरीको उपचारको लागि आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन्