न्यायका लागि लड्दै आएका धनुषाका आरती साहका भाइ र आमा पक्राउ

by

in

माघ २२ गते। आरती साहको न्यायका लागि लड्दै आएका उनका भाइ र आमा पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका हुन् । ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा प्रहरीले उनीहरुलाई दक्षिण गेटबाट पक्राउ गरेको हो ।

आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन उनीहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए । गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्षले घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै आएका छन् ।

उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आरतीका आमा, बुवा र बहिनी विगत लामो समयदेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।