अब अनलाइनबाटै ५ लाख रुपैयाँसम्म ऋण लिन पाउने।।

by

in

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।

मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा तलवी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै, कर्जा प्रदान गर्दा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । मार्ग निर्देशन अनुसार ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एप को माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्ने सक्ने व्यवस्था गरिएको छ । आवेदन प्राप्त भएपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ्क विभिन्न श्रोतबाट विद्युतीय माध्यममार्फत् प्राप्त गर्नुपर्नेछ ।

सूचना प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो, छरितो, सरल र सहज रुपमा कर्जा प्रदान गर्ने तथा कर्जा असुली कार्यलाई सहजीकरण गर्न मार्गदर्शन जारी गरिएकोे राष्ट्र बैंकले जनाएको छ । यसबाट स–साना रकममा प्रवाह हुने कर्जाको लागत कम भई पारदर्शी रूपले कर्जा विस्तारमा सहयोग पुग्न जाने राष्ट्र बैंकको अपेक्षा छ ।