पहिलो भेटमै सन्दीपले करणी गरे

by

in

(क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी किटान गरिएको काठमाडौँ जिल्ला अदालतको ७६ पृष्ठको फैसला प्राप्त भएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासबाट सन्दीपलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय निर्धारणसमेत भइसकेको छ।

पुस ३ मा भएको फैसला र पुस २५ मा भएको सजाय निर्धारणको निर्णयको पूर्ण पाठ भर्खर मात्र अदालतले प्रमाणीकरण गरेको छ। यस प्रकरणमा सन्दीप र गौशाला २६ (सांकेतिक नाम) बीच शारीरिक सम्बन्ध मञ्जुरीमा भएको थियो कि थिएन? उनको उमेर १८ वर्ष नाघेको थियो कि थिएन भन्ने मूल विवाद थियो।

अदालतले जन्म दर्ता प्रमाणपत्रलाई आधार मानी करणीका बखत १८ वर्ष पुगिसकेको मानेको छ।

तर, सन्दीपले आफ्नो शक्ति र प्रभावको दुरुपयोग गरेकाले सहमतिको सम्बन्ध मान्न नसकिने ठहर अदालतले गरेको छ।

सन्दीपलाई दोषी ठहर गर्दा जिल्ला अदालतले लिएका आधार र केही महत्त्वपूर्ण व्याख्याका प्रसंग यहाँ प्रस्तुत गरिएको छ। पाठकको सहजताका लागि अर्थ नबिग्रिने गरी केही वाक्यलाई सरलीकृत गरिएको छ। -सम्पादक)

करणीको नियतले होटलमा
सन्दीप लामिछानेले अनुसन्धान अधिकारी तथा यस अदालतसमक्ष बयान गर्दा आफूले नचाहँदा नचाहँदै पनि पीडितले कर गरेको भन्दै पीडितसँगै नगरकोट गएको, होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ मा राती वास बसेको लगायतका अन्य सम्पूर्ण घटनाक्रम स्वीकार गरेको देखिन्छ। तर होटलमा राति बस्दा आफूले पीडितलाई केही नगरी एउटा कुर्सीमा बसी रात बिताएको भनेको देखिन्छ।

दुई पक्षका बीचमा हुने करणीको कार्य गोप्यरूपमा हुने भएकोले यसलाई प्रत्यक्ष रुपमा देख्ने साक्षी कोही नहुने हुँदा करणीको कार्य भए नभएको सम्बन्धमा परिस्थितिजन्य प्रमाणमा नै भर पर्नुपर्ने हुन्छ।

सन्दीप र पीडित किशोरीका बीचमा स्न्यापच्याटमार्फत् चिनजान भएको एक हप्ता पनि भएको देखिँदैन। ती दुवैबीच कुनै किसिमको नाता सम्बन्ध रहेको देखिँदैन। निजहरू प्रेम सम्बन्धमा रहेको अवस्था पनि देखिँदैन। प्रतिवादी र पीडित प्रत्यक्षरूपमा घटना हुनुभन्दा अगाडि भेट भएको भन्ने अवस्था पनि छैन।

मिसिल संलग्न कल डिटेल्स् रिपोर्ट हेर्दा प्रतिवादी (सन्दीप) पक्षबाट नै धेरैपटक सम्पर्क गरेको देखिन्छ। प्रतिवादी सन्दीप लामिछाने क्लोज क्याम्पमा रहेको देखिई निजलाई बस्नको लागि हायात प्लेस होटलमा कोठा रहेको भन्ने देखिन्छ। घटना घट्ने दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ।

यस्तो अवस्थामा उनले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलको कोठामा नबसी पीडित बसेको कोठामा नै बसेका छन्। ती दुवैका कृयाकलापको सामान्य क्रम विचार गर्दा सन्दीपको मनसाय पीडितसँग करणी गर्नु नै रहेको भन्ने अनुमान गर्न सकिन्छ। प्रमाण ऐन, २०३१ को दफा ७ (ग) अनुसार पनि सो कुरा अदालतले अनुमान गर्न सक्ने नै हुन्छ।

पीडितले करणी भएको भनेको र माथि उल्लेखित परिस्थितिबाट पीडित र प्रतिवादीकाबीचमा करणीको कार्य भएको भन्ने अवस्था देखियो।

फसाउनुपर्ने कारण छैन
प्रतिवादी पक्षका कानुन व्यवसायीले बहसको क्रममा पीडितले आफ्नो साथीलाई साथीको घरमा छोडिसक्यो म सुरक्षित छु भनेर म्यासेज लेखेको, गौशाला २६ को शरीरमा संघर्षका चिन्ह नदेखिएको, स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी भएको भन्ने पुष्टि नभएको, पीडितले आत्मरक्षाको अधिकार प्रयोग नगरेको, सन्दीपलाई फसाउनको लागि लामो समयपछि सोचविचार गरी जाहेरी दरखास्त दिएको भनी जिकिर लिएको देखिन्छ।

सो सम्बन्धमा हेर्दा पीडितले आफ्नो साथीलाई आफ्नो घरमा छोडिसक्यो भन्ने म्यासेज घटना हुनुपूर्व नै लेखेको पाइन्छ। घटना हुनुभन्दा पहिला लेखिएको म्यासेजबाट पछि भएको भनिएको घटनालाई प्रमाणित वा खण्डन गर्ने अवस्था हुँदैन।

पीडितको स्वास्थ्य परीक्षण घटनाको १५ दिनपछि र प्रतिवादीको करिब डेढ महिनापछि मात्र भएको देखिन्छ। लामो समयपछि भएको स्वास्थ्य परीक्षणमा करणीपश्चात् देखिने संघर्षका चिन्हहरू नदेखिन पनि सक्छन्। पीडित तथा प्रतिवादीका शरीरमा संघर्षका चिन्हहरू नदेखिँदैमा करणी नै भएको होइन भनी यकिन हुने होइन। संघर्षका चिन्हहरू देखिएको अवस्थामा एक पक्षको असहमतिमा करणी भएको भन्ने कुरालाई थप पुष्टि गर्ने मात्र हो। आत्मरक्षाको अधिकार प्रयोग नगर्दैमा करणीको कार्य नभएको भन्ने हुँदैन।

स्वास्थ्य परीक्षण प्रतिवेदनले करणी भएको भन्ने पीडितको भनाइलाई खण्डनभन्दा पनि समर्थन नै गरेको छ।

जाहेरी दरखास्त कानुनले निर्धारित गरेको हदम्यादभित्र नै परेको छ। नेपालमा महिलाको सामाजिक स्थिति, करणीबाट पीडितमा पर्न सक्ने मानसिक प्रभाव समेतका कारणहरूबाट महिलाले सहज किसिमले तुरुन्तै उजुर नगर्ने हुन सक्छ। केही समय ढिलो जाहेरी दिएको कारणबाट मात्र त्यस्तो जाहेरीलाई सोची विचारी दिएको भन्न मिल्ने हुँदैन।

जाहेरी आफैँमा एक मात्र पूर्ण प्रमाण पनि होइन। मुख्य कुरा सो जाहेरी अन्य प्रमाणबाट समर्थित छ कि छैन, सोलाई समेत विचार गरिनुपर्ने हुन्छ।

पीडितले प्रतिवादीलाई फसाउनुपर्नेसम्मको कुनै कारण पनि देखिँदैन।

प्रतिरोध नगर्नु नै मञ्जुरीको प्रमाण होइन
पीडित तथा प्रतिवादीका बीचमा भएको करणी पीडितको मञ्जुरीमा भएको हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा, करणीको घटना भएको भनिएको दिनमा पीडित १८ वर्ष उमेर पुगिसकेको भन्ने कुराको विवेचना भइसकेको छ। उमेर पुगेका महिला-पुरुषले एकआपसको मञ्जुरीमा करणी गर्न स्वतन्त्र हुने भएकोले त्यस्तो मञ्जुरीको करणीलाई कसुर मानिँदैन। यस्तो करणी महिलाको मञ्जुरीबिना भएको अवस्थामा भने जबरजस्ती करणीको कसुर हुन्छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) मा कसैले जबरजस्ती करणी गर्न हुँदैन भन्ने व्यवस्था छ। सोही दफाको उपदफा (२) मा कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको मानिने उल्लेख छ।

उक्त उपदफामा मञ्जुरी के हो भन्ने परिभाषा छैन।

सोही उपदफाको स्पष्टीकरणको खण्ड (क) मा करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने लेखिएको छ। खण्ड (ख) मा होस ठेगानामा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भन्ने व्यवस्था रहेको पाइन्छ।

सोही संहिताको परिच्छेद २ फौजदारी न्यायका सामान्य सिद्धान्तअन्तर्गत दफा १५ मा मञ्जुरी लिई गरेको काम कसुर नहुने, दफा १६ मा भलाइका लागि मञ्जुरी लिई गरेको काम कसुर नहुने, दफा १७ मा भलाइका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसुर नहुने, दफा १८ मा भलाइको लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुने भन्ने व्यवस्था रहेको पाइन्छ।

दफा २० मा मञ्जुरी मौखिक वा लिखतरूपमा वा इशारा वा आचरणद्वारा व्यक्त गर्न सकिने लेखिएको छ।

तर देहायका अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने लेखिएको छ–

(क) तथ्यको भ्रममा परी वा कुनै किसिमको हानि-नोक्सानी हुन सक्ने डरत्रासमा परी कुनै व्यक्तिले मञ्जुरी दिएको र त्यस्तो मञ्जुरीअनुसार काम गर्ने व्यक्तिलाई त्यस्तो मञ्जुरी दिइएको हो भन्ने कुरा थाहा भएमा वा निजले विश्वास गर्नुपर्ने कुनै मनासिव कारण भएमा,

(ख) मानसिक अस्वस्थताको कारणले आफूले दिएको मञ्जुरीको गुण, दोष र परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेका बखत कुनै व्यक्तिले मञ्जुरी दिएकोमा,

(ग) अठार वर्ष ननाघेका बालबालिकाले मञ्जुरी दिएकोमा र

(घ) अनुचित प्रभावमा परी मञ्जुरी दिएकोमा।

मञ्जुरीको सम्बन्धमा अन्य देशको कानुनी व्यवस्था हेर्दा बेलायतमा सेक्सुअल अफेन्स एक्ट, २००३ को दफा ७४ मा मञ्जुरीको परिभाषा गर्दै छनौट गर्न सक्षम व्यक्तिले स्वतन्त्रतापूर्वक छनौट गर्न सहमत हुन्छ भने त्यस्तो व्यक्तिले मञ्जुरी दिएको मानिने भनिएको छ। त्यस्तै दफा ७५ मा मञ्जुरी सम्बन्धमा प्रमाणको अनुमान गर्नुपर्ने कुराअन्तर्गत प्रतिवादीले वारदात घटाएको देखिएको र मञ्जुरी नभएको मानिने परिस्थितिहरूको विद्यमानता रहेको र प्रतिवादीलाई त्यस्ता परिस्थितिहरूको जानकारी भएको अवस्थामा प्रतिवादीले पर्याप्त प्रमाण पेस गरेको अवस्थामा बाहेक पीडितको मञ्जुरी नभएको मानिने उल्लेख छ।

मञ्जुरी नभएको मानिने परिस्थिति भन्नाले कुटपिट गरी वा गर्ने धम्की दिई, गैरकानुनी थुनामा राखी, निन्द्रा वा अन्य कारणले अचेत रहेको, शारीरिक अशक्तताको कारणले मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको, जाहेरवालाको सहमतिबिना बेहोस हुने वा प्रतिकार गर्न नसक्ने पदार्थको सेवन गराई लिइएको मञ्जुरीलाई प्रतिवादीले प्रमाणद्वारा खण्डन नगरेसम्म मञ्जुरी मानिँदैन।

दफा ७६ मा करणी सम्बन्धी कार्यको प्रकृति र उद्देश्यको सम्बन्धमा प्रतिवादीले जानीजानी झुक्याएको र व्यक्तिगतरूपमा जाहेरवालासँग चिनजान भएको व्यक्तिको भ्रम सिर्जना गरी त्यस्तो कार्य गर्न जाहेरवालालाई जानीजानी उत्प्रेरित गरी लिएको मञ्जुरीलाई वास्तविक मञ्जुरी मानिँदैन।

भारतीय अपराध संहिताको दफा ३७५ को दोस्रो खण्डमा महिलाको मञ्जुरीबिना गरिने यौनक्रियालाई जबरजस्ती करणी मानी सोको स्पष्टीकरण २ मा मञ्जुरीको परिभाषा गरिएको छ।

सो व्यवस्थाअनुसार, महिलाले कुनै प्रकारको यौन कार्यमा भाग लिनको लागि शब्द, इशारा वा अन्य कुनै प्रकारको मौखिक वा गैरमौखिक माध्यमबाट इच्छा व्यक्त गरी गरेको एक स्पष्ट स्वेच्छिक सहमति मञ्जुरि हो।

तथापि, महिलाले शारीरिकरूपमा प्रतिरोध नगरेको कारणले मात्र यौन कार्यमा निजको मञ्जुरी थियो भन्न सकिँदैन।

महिला र पुरुषका बीचमा हुने यौन क्रियालाई नेपालीमा सम्भोग पनि भन्ने गरिन्छ। सम्भोगको अर्थ समान तरिकाले भोग गर्नु हो।

यौन क्रियामा दुवै पक्षको समान चाहना तथा सहभागिता रहेको अवस्थामा सम्भोग हुने हो। कुनै एक पक्षको चाहना र सहभागिता नरहेको अवस्था देखिन्छ भने त्यस्तो यौनक्रिया मजुरीबिनाको जबरजस्ती हुन्छ।

कुनै यौनक्रियामा असहमत हुने पक्षले अर्को पक्षका विरुद्ध प्रतिकार गरेको र त्यसरी प्रतिकार गर्दा संघर्षका चिन्हहरू देखिन्छन् भने त्यस्तो क्रियामा असहमति रहेको भन्ने कुरा सहजरूपमा नै अनुमान गर्न सकिन्छ। तर प्रतिकार नगरेकै कारणले मात्र अर्को पक्षको मञ्जुरी रहेको भनी अनुमान गर्न भने मिल्दैन।

एक पक्षबाट भौतिक बलको प्रयोग गरेको वा त्यस्तो बल प्रयोग गर्ने धम्की दिएको अवस्था तथा अर्को पक्ष कुनै कारणबाट अचेत रहेको तथा शारीरिकरूपमा अशक्त रहेको अवस्थामा अर्को पक्षले प्रतिकार गर्न नसकी समर्पण गर्नुपर्ने हुन्छ। यसरी समर्पण गरेको कुरालाई मञ्जुरी मानिँदैन।

शक्तिशाली र शक्तिहीनको सम्बन्ध
जबरजस्ती करणीको कसुर शक्तिहीनका विरुद्ध शक्तिसम्पन्नले गर्ने कसुर हुँदा यौनक्रियामा संलग्न रहने पक्षहरूको शक्ति सन्तुलनलाई पनि हेर्नुपर्ने हुन्छ।

समाजमा आर्थिक सामाजिक रूपमा कमजोर रहेका व्यक्तिहरू शक्ति सम्पन्नबाट सहजरूपमा प्रभावित हुन्छन्। कैद, थुना वा हिरासतमा रहेका, अरू कसैको संरक्षण वा सुरक्षामा रहेका कुनै कार्यालयगत वा पेसागत सेवा प्राप्त गर्न गएका मानिसहरू त्यसरी हिरासतमा राख्ने, संरक्षणमा राख्ने वा सेवा दिने व्यक्तिहरूबाट सहज रूपमा प्रभावित हुन्छन्।

यसैगरी एउटै कार्यालयमा रहने माथिल्लो तह र तल्लो तहको कर्मचारी, एउटै विद्यालयको शिक्षक र विद्यार्थी, छात्रावासमा वार्डेन र विद्यार्थी, फिल्म वा कला क्षेत्रमा ख्यातिप्राप्त नायक निर्देशक र भर्खर प्रवेश गरेका नवप्रवेशी कलाकार, होटलका मालिक व्यवस्थापक र सहायक कामदार, धर्मगुरु र अनुआयी कुनै क्षेत्रमा विशेष ख्याति प्राप्त गरेका व्यक्ति र समर्थक आदि अन्य उदाहरण हुन सक्छन्।

यस्ता असमान शक्ति सम्बन्धमा रही कमजोर रूपमा रहेका व्यक्तिहरू अर्को व्यक्तिप्रति सहज रूपमा विश्वासमा परेका हुन्छन्, कुनै कुराका लागि आभारी हुन्छन्, कसैको अधीनमा वा आश्रित हुन्छन्। यस्ता निर्बल व्यक्तिहरूलाई अर्को पक्षले सहज रूपमा दुरूपयोग गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरू यौन जोखिममा रहेका हुन्छन्।

यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टकोणबाट पनि हेरिनुपर्ने हुन्छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २२१ देखि २२३ मा करणीसम्बन्धी कसुर मानिने अवस्थाबार यसप्रकार व्यवस्था गरिएको छ–

दफा २२१– कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरू कसैलाई संयोग पारी मिलाइदिई करणी गराएको,

दफा २२२– कसैले आफूले संरक्षण वा सुरक्षा दिएको वा आफ्नो हेरविचारमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा करणी गर्न अरूलाई सहयोग गर्न वा होस ठेगानामा नरहेको शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनर्स्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गरेको अवस्थामा र

दफा २२३– सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेसागत सेवा वा व्यावसायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरूलाई सहयोग गर्न हुँदैन।

यस्ता व्यक्तिहरूका बीचमा करणी स्थापित भएको अवस्थामा स्वतः कसुर मानिन्छ। मञ्जुरी भए–नभएको कुनै कुरा हेरिँदैन।

नेपाल कानुन पत्रिका २०७२ निर्णय नम्बर ९०३५ मा सर्वोच्च अदालतबाट मञ्जुरीका सम्बन्धमा यसरी व्याख्या गरिएको छ–

‘…एउटा वयष्क र स्वस्थ महिला अथवा पुरुषलाई उनीसरहको महिला अथवा पुरुष एक्लैले निजको इच्छाविरुद्ध जबरजस्ती करणी गर्न सक्दैन, पीडितले रोईकराई संघर्ष आदि गरेर प्रतिरोध गर्नुपर्छ, पीडित तथा प्रतिवादीको शरीरमा प्रतिरोधको चिन्ह देखिनुपर्छ भनी पीडितको शरीर र उमेर मात्र हेर्ने दृष्टिकोणलाई मान्यता दिन सकिँदैन। पीडितको मानसिक अवस्था र परिवेश पनि हेर्नु आवश्यक हुन्छ। पीडितबाट कसरी असहमति व्यक्त हुनुपर्छ, पीडितको असहमति आम समुदायले बुझ्ने गरी नै व्यक्त हुनुपर्छ भन्न मिल्दैन। सोच्दै नसोचेको घटना घट्दा सबैले एकै हिसाबले सुझबुझका साथ यस्तै प्रतिक्रिया व्यक्त गर्नुपर्छ भन्न मिल्दैन। पीडितबाट अनजान ठाउँमा आफू एक्लै र असुरक्षित अवस्थामा रातिमा भएको यो वारदातमा भएको त्यो हदसम्मको प्रतिक्रिया स्वाभाविक हुने। …जबरजस्ती करणी मुद्दामा पीडित र प्रतिवादी एक–आपसमा यौन समागम गर्नका लागि समान हैसियतमा छन् वा छैनन्, अर्थात् यिनीहरूमा इक्वालिटी अफ बार्गेनिङ पावर छ कि छैन भन्नेसमेत विचार गर्नुपर्ने हुन्छ। जो कमजोर र अरूबाट सहज प्रभावित हुन सक्छन् अथवा जो–कसैको विश्वासमा परेका हुन्छन्, कसैबाट कुनै कुराका लागि आभारी छन् वा कसैको अधीनमा वा आश्रित छन्? यस्ता जोखिममा रहेकाको हक, हित र सम्मानको रक्षाको लागि यौन कसुरको विधिशास्त्र प्रत्येक दिन विकसित हुँदै गइरहेको देखिन्छ।’

यसैगरी नेपाल कानुन पत्रिका २०७६ निर्णय नम्बर १०३४२ मा आफ्नो पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहको महिला सैनिकसँग यौन सम्बन्ध राख्नका निम्ति लिएको सहमतिलाई अनुचित प्रभावमा पारी लिएको सहमति भनी बुझ्नुपर्ने भनी व्याख्या भएको पाइन्छ। अनुचित प्रभावमार्फत् लिइएको सहमति भ्रमकै स्वरूप मान्नुपर्दछ र यस्तोमा स्वतन्त्र मनको प्रयोग गरी जानेर वा बुझेर दिइएको सहमति मान्न नसकिने, बरू यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिको रूपमा हेरिनुपर्ने व्याख्या त्यस निर्णयमा भएको छ।

ख्यातिको दुरूपयोग
गौशाला २६ भर्खर १८ वर्ष पुगेकी देखिन्छन्। भरखर मात्र एसईई उत्तीर्ण गरेको भन्ने देखिन्छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेको तथा पारिवारिक अवस्था पनि राम्रो नरहेको भन्ने देखिन्छ।

सो कुरा घटना विवरण कागज गर्ने देव खनालले वकपत्र गर्दा ‘आफ्नो पारिवारिक स्थिति राम्रो छैन, आर्थिक सहयोग खोजी गरिरहेको कुरा गर्थिन्’ भनी लेखाएका छन्।

प्रतिवादीका साक्षी तथा पीडितसँगै एउटै कोठामा बस्ने महिलाले वकपत्र गर्दा ‘तिमी किन सन्दीप लामिछानेलाई भेट्न जान लागेको’ भनी सोध्दा आफूलाई होस्टल फी र अन्य खर्चको लागि स्पोन्सरसिप चाहिएको हुँदा र भोली नै सन्दीप लामिछाने २ महिनाको लागि बाहिर जान लागेको हुँदा आजै भेटेर कुरा गर्नु छ भनेकी थिइन्’ भनेर लेखाएकी छन्।

अदालतमा सन्दीपको बयान छ, ‘निजको व्यक्तिगत कुराहरूको बारेमा सोध्दा आफू एकदमै दयनीय स्थितिमा रहेको बताइन्। बुवाआमाको सम्बन्ध–विच्छेदपछि धेरै समस्याहरू भोग्नुपरेको बताइन्। आफ्नो एउटा दाइ पनि कुलतमा फसेको र घरमा खासै वास्ता नगर्ने, जहिल्यै गाली गरिरहने र खर्चसमेत मागिरहने बताइन्।’

सन्दीप लामिछाने २२ वर्ष उमेरका र नेपाली क्रिकेट टिमका कप्तान रही क्रिकेट खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मानिस देखिन्छन्। पीडित उनको खेल समर्थक (फ्यान) देखिन्छन्।

पीडितको उमेर, पारिवारिक तथा आर्थिक अवस्था र सन्दीपको शारीरिक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत हेर्दा यी दुई बीचमा समानता रहेको भन्ने देखिँदैन।

पीडितको आर्थिक अवस्था समेतका कारणबाट निज सहजरूपमा दुरुपयोग हुने अवस्थाको देखिन्छिन्। आर्थिक सहयोगको आसको कारणबाट निज प्रतिवादीसँग भेट गर्न गएको भन्ने देखिन्छ। सोही अवस्थामा प्रस्तुत घटना भएको देखिन्छ।

जबरजस्ती करणी मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म त्यही भनाइ नै सर्वाधिक महत्त्वको प्रमाण हुने हुँदा पीडितले जबरजस्ती गरेको भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीलाई मञ्जुरीमा भएको भन्न मिल्ने देखिएन।