भगवान् तिमीलाई मेरो आँसुले सराप्नेछ

News

चेतावनी : बर्बर हिंसा, क्रर यातनाको प्रसंगले तपाईंलाई विचलित बनाउन सक्छ ।

चकमन्न साँझ । बेपत्तासँग हुस्सु लागेको छ । बेसुरमा बजेको शंखध्वनिले थप त्रासदी थपेको छ ।

केही पर होचो तर गठिलो ज्यानको मानव आकृति देखापर्छ । त्यो आकृति हठात् मतर्फ बढ्छ । म देख्छु, उनको हातमा धारिलो बञ्चरो छ । उसले मेरो  निधारमा ताकेर जोडले बञ्चरो बजार्छ । बञ्चरोको धार मेरो दायाँ आँखामा ख्वाप्प गाडिन्छ ।

खपिनसक्नु वेदनाले म चिच्याउँछु ।

झसंग हुन्छु, सायद तन्द्रामा थिएँ । ब्युँझिंदा कसैले मेरो आँखामा खैनी लगाइरहेको पाउँछु । आँखाबाट तरर तातो आँसु बग्छ ।

****

‘बुद्ध वाज बर्न इन नेपाल ।’

यही वाक्यांश लेखिएको ट्रकमा चढाइएको छ हामीलाई । ट्रकको माथितिर चार-पाँचवटा काठको बिम तेर्स्याइएको छ । त्यहीं बिममा डोरी तन्काएर हाम्रो टाउको र पुच्छर बाँधिएको छ । बाँध्न पनि यति कँसिलो बाँधिएको छ, घाँटी तनक्क तन्किएको छ । पुच्छर चुँडिएला झैं छ । नाथ्री टनटन पोलेको छ ।

न यता फर्किन पाइन्छ, न उता हेर्न सकिन्छ । न थपक्क बस्न मिल्छ, न कतै अडेसिन ।

एकअर्कामा रगडिएर हाम्रो छाला रापिएको छ । एकअर्काको श्वासले हाम्रो नाक निस्सासिएको छ । एकअर्काको बोझले जीउ फतक्कै गलेको छ ।

कठैबरा हामी ।

झमक्क रात परेछ । कच्ची बाटो छाडेर ट्रक राजमार्गमा गुडिरहेको छ ।

मैले सुस्तरी आँखाको ढकनी खोलें, भतभती पोल्यो । सायद रातभर निदाउन नसकोस् भनेर हाम्रो आँखामा खैनी लगाइएछ । कष्टसाथ आँखा खोल्दा मैले सामुन्नेमा देखें, मेरी आमालाई ।

आमाको एउटा सिङ भाँचिएछ । दाम्लोले कसेर उनको नाकबाट तप–तप आलो रगत बगिरहेको थियो । मेरी आमालाई कति दुख्यो होला । सम्झेर मेरो मन रोयो ।

त्यही आमा, जसको गर्भाशयमा मेरो भ्रूण विकास भयो । उनैको दूध पिएर मेरो ज्यान लाग्यो । त्यसबेला उनले मेरो कति ख्याल गरेकी थिइन् ।

दिनभरि व्यथाले च्यापेपनि मध्यरातमा म जन्मिएँ । न्यानो गर्भबाट फुत्त धर्तीमा ओर्लिंदा मलाई आमाले स्नेहपूर्वक चाटेकी थिइन् । त्यो मातृवात्सल्य पाएर म उनकै कोखमा लुटपुटिएको थिएँ । मेरो खुट्टा राम्ररी टेक्न सकिरहेको थिएन । एकातिर टेक्न खोज्दा हुर्रिएर अर्कोतिर झटारिन्थें । कहिले बलेसीमा लड्थें, कहिले मलखाँडीमा उँधोमुन्टो पर्थेँ । भोकले केही खान खोज्थें तर मेलोमेसो पाउँदिनथें ।

त्यसबखत मेरी आमालाई खुब सास्ती भएको हुँदो हो । आफ्नो कलिलो बच्चालाई चोटपटक पो लाग्छ कि ? हिंस्रक जनावरले खाइदिन्छ कि ? सायद यस्तै आशंकाले उनलाई बेचैन बनाएको हुँदो हो । त्यसैले त उनी हरसम्भव मेरो नजिक आउन खोज्थिन्, मलाई स्पर्श गर्न चाहन्थिन् । तर घाँटीमा बाँधिएको दाम्लोले उनलाई रोक्थ्यो । आखिर छटपटाउँदै रातभर जागा बसेकी थिइन् उनी ।

कसोकसो उनको फाँचोमा मुख लगाएर घटघट दूध चुसेपछि म कम्ता तृप्त भएको थिइनँ । भोक र तिर्खा मेटेर आनन्दसाथ उनैको कोखमा घुस्रिएको थिएँ । त्यसपछि बल्ल मेरी सुत्केरी आमाले आफ्नो थाकेको ज्यानलाई आराम दिएकी थिइन् ।

बिहान झिसमिसे उज्यालो हुन नपाउँदै घरमूली बा र गोठालो हतारिंदै आइपुगेका थिए दूध दुहुने ढुंग्रो बोकेर । घरमूली बाले मेरी आमालाई सुम्सुम्याउँदै भनेका थिए, ‘कालीको दूध धेरै नआएपनि बाक्लो हुन्छ । प्रशस्त घिउ लाग्छ ।’

गोठालोले तातो कुँडो पकाएर मेरी आमालाई दिएका थिए र फाँचोतिर हात लम्काउँदै अनुमान गरेका थिए, ‘दश बेत हो, अब त दूध बढ्दैन बरु घट्छ ।’ त्यसपछि उसले मलाई जुरुक्कै उचालेको थियो । यसो भन्दै ‘यसलाई चाहिं काटेर खानु हुँदैन । हल खोजेर जोत्नुपर्छ ।’

ढुंग्रोमा बिगौती दूध भरेर उनीहरु हिंडेपछि म फूर्तीसाथ आमा भएतिर दौडिन खोजेको थिएँ । तर कुनै डोरीले मेरो दाहिने खुट्टा अठ्याएको थियो । मलाई पनि दाम्लोले बाँधिसकेका रहेछन् ।

म उफ्रिन चाहन्थें, दौडिन चाहन्थें । आमाको नजिक जान चाहन्थें, मनलाग्दी दूध चुस्न चाहन्थें । हरियो घाँसे मैदानमा लडीबुडी गर्दै खुब खेल्न चाहन्थें । यो लोकमा उन्मुक्त विचरण गर्न चाहन्थें । तर जन्मिएको ६ घण्टा बित्न नपाईं म दाम्लोमा बाँधिएँ ।

****

आमा, तिम्रो दूधको तलतल लाग्थ्यो । त्यो अमृतसमान दूध घटघट पिएर आँत भर्न मन लाग्थ्यो । खै किन हो, मलाई भरपेट दूध खान दिइएन ।

तेस्रो दिनदेखि मलाई मनतातो पानीमा नुन र पिठो घोलेर खान दिइयो । भोकको झोंकमा मैले खाइदिएँ । तर त्यस्तो खाना पचाउन मेरो कलिलो पाचन यन्त्र तयार भएको थिएन, भुँडी दुखेर झण्डै मरिनँ ।

आमा, सास्ती मेरो मात्र होइन तिम्रो पनि उस्तै थियो । मलाई जन्माउने बखत तिम्रो कति जीउ दुखेको थियो, पाठेघर र जनेन्द्रियमा कति दख्खल परेको थियो । तर तिमीले सुत्केरी स्याहार पाएनौं ।

तिमी बस्ने थला हिलैहिलो थियो, जहाँ झिंगा, भुसुनाले टोकेर हैरान बनाउँथ्यो । कलिलो अनि हरियो घाँस खान मन लाग्थ्यो होला, तर तिमीले सुख्खा पराल खाएर भोक मेट्नुपर्थ्यो । मलाई थाहा छ, तिमीले कहिल्यै अघाउँजी खान पाएनौं । मैले पनि ।

एकदिन घरमूली आएर तिम्रो दूध दुहुँदै थियो । मेरो घाँटीको दाम्लो कसिएर किलकिले अड्कियो । सास फेर्न गाह्रो भो । म दाम्लोबाट उम्किनका लागि उफ्रिएँ । ठीक यही बेला तिमी पनि आत्तियौं र उफ्रियौं । ढुंग्रोको दूध सबै पोखियो । घरमूली बा गोबरमा पछारियो ।

त्यसपछि घरमूली रिसले चूर हुँदै तिम्रो पेटमा लात्ती नै लात्ती हानेको थियो । तात्तातो खोले उचालेर तिम्रो टाउकोमा खन्याइदिएको थियो । ‘असत्ती’, ‘राक्षसको बहान’ भन्दै दिनभर भोकै राखेको थियो ।

चीनको याङ्जी नदीबाट मान्छेले हाम्रो पूर्खालाई आफूसँगै राख्न थालेको रहेछ, सात हजार वर्षअघि । यसरी सदियौंदेखि मान्छेले हामीलाई दोहन गर्दै आयो तर हाम्रो भावनालाई कहिल्यै बुझेन । कहिल्यै बुझेन । आमा, मान्छेहरु आफूलाई त अन्तरआत्माबाट बुझ्छन् । किन हामीलाई बुझ्दैनन् ?

****

टन्टलापुर घाम लागेको थियो । ज्यान यसै आलस्य र शिथिल थियो । बढ्दो उमेरमा भोक र निद्रा लाग्ने नै भयो । म यसो झकाउन खोज्दै थिएँ ।

घरमूली बा र तन्नेरी गोठालो हस्याङफस्याङ गर्दै आइपुगे । म जर्‍याकजुरुक उठें, घाँस खान पाइएला कि भनेर । उनीहरुले मेरो दाम्लो फुकाले ।

म जन्मिएदेखि त्यही थलामा, त्यही दाम्लोमा थिएँ । मेरो शरीरले ओगट्ने परिधिभन्दा बाहिर निस्कन पाएको थिइनँ । जसै दाम्लोबाट उम्किएँ, मेरो टाउको कम्ता हल्का भएन । मलाई के गरौं, कसो गरौं भयो । मेरो ज्यानमा एकाएक फूर्ति बढ्यो ।

बेपत्तासँग दौडिएँ ।

यता दौडिएँ, उता दौडिएँ । टारबारीको छेउकुना भ्याएँ । त्यहाँ तोरी लहलह थियो । मलाई त त्यति मीठो घाँस पनि खान मन लागेन । बरु त्यसमाथि बुकुर्सी मार्न मन लाग्यो ।

मैले देखें, मेरो पछि-पछि गोठालो र घरमूली बा पनि दौडिरहेका छन् । उनीहरु चाहिं किन दौडिएको ? म जस्तै बन्धनमुक्त भएर त होइन होला ।

दौडिंदा दौडिंदै कतिबेला मेरो घुँडा खाल्डोमा धस्सियो, पत्तो पाइनँ । म थचक्कै बसें । घरमूली बा र गोठालोले जोडसँग मेरो सिङमा दाम्लो बाँधे । खुट्टामा बाँधे । अनि मैले नराम्ररी भाटे कारबाही भेटें ।

छाला नै उप्किएला झैं गरी कुटेपछि उनीहरुले मलाई दुईतिरबाट डोर्‍याउँदै बाँझो बारीमा पुर्‍याए । त्यहाँ मेरै छिमलका राँगा बाँधिरहेको थियो । ऊ म जस्तै मरनच्याँसे देखिन्थ्यो । सायद उसले पनि सानोमा भरपेट दूध खान पाएनन् ।

हामी दुवैको काँधमा घरमूली बाले जुवा लगाए । जुवाको माझमा हलो । त्यसपछि हाम्रो तिघ्रामा लाठी चार्ज गरे । हामी दुवै बेतोडले दौडियौं । घरमूली बा पछारिए । तैपनि उनले हलो छाडेनन् । उनी जब्बर रहेछन्, मेलो नलागेसम्म हामीलाई जोतेको जोतेकै गरे ।

बाँझो बारी त जोतिएको थियो । तर घरमूली बा खुसी थिएनन् । उनले गोठालोलाई कराए, ‘यी डाम्नाहरुलाई भोकै राख्नु ।’

चर्को घाममा जोतिंदा-जोतिंदा मलाई तिर्खा लागेको थियो । त्यसमाथि जोत्नुअघि भुसमा चर्को नुन मिसाएर खान दिएका थिए । मेरो घाँटी सुकेको थियो । आँत सुकेको थियो । म तिर्खाले व्याकुल थिएँ । घटघट पानी पिउन पाए कति तृप्त हुन्थें होला ? तिर्सनाले म लल्याकलुलुक भएँ ।

साँझ गोठालोले एक-एक मुठा पराल खान दिएँ । तर मलाई खान जाँगर थिएन । टाउको भारी भएको थियो । जीउ बेस्सरी दुखेको थियो । बस्न खोज्दा घुँडा खुम्च्याउन सकिनँ, उभिरहें । शरीरभित्रैबाट रापिएर आयो ।

आमा, म त्यसबेला एकदमै गलेको थिएँ । एकदमै तिर्खाएको थिएँ । मैले कहिल्यै अघाउने गरी खान पाइनँ । तर त्यसदिन त पराल चपाउनै नसक्ने भएछु । असह्य पीडाले मेरो आँखा टिलपिल भो । म रातभर राम्ररी निदाउन सकिनँ ।

बिहान यसो झकाउन मात्र लागेको थिएँ । घरमूली बा र गोठालो आएर सिङमा र खुट्टामा दाम्लो बाँध्न थाल्यो । म हलचल गरिनँ । बरु टिठलाग्दो आँखाले टुलुटुलु हेरिरहें । मेरो हेराइको भाव बुझेर सञ्चो–बिसञ्चो सोध्छन् होला, पानी पिउन दिन्छन् होला भन्ने ठानें । तर उनीहरुले मलाई दुईतिर तान्दै फेरि बाँझो बारीमा पुर्‍याए ।

हामीले उसैगरी हलो तान्नुपर्ने भयो । दिनभर जोतियौं ।

घरमूली बा बिहान सबेरै उठेर नित्यकर्म सिध्याएपछि घण्टी र शंख बजाउँदै पूजापाठ गर्छन् । आमा, पूजाको अर्थ त आफूभित्र करुणाभाव जागृत गर्नु होइन र ? खै, यिनीहरुमा मायादया भन्ने कुरा पटक्कै छैन । यो धर्तीमा ८७ लाख भन्दा बढी प्रजातिका जीव बस्छन् । तर मान्छे जस्तो ढोंग गर्ने अरु कुनै तुच्छ जीव छैन होला है ।

****

चैतको खडेरीभर हामी जोतियौं । बर्खायाम सुरु भयो । हामीले जोतेको बारीमा मकै लहलह भयो । अब त घरमूली बाले हाम्रो गुण सम्झिन्छन् । खडेरीमा जोतिएर थिलथिलो भएको ज्यानलाई आराम गर्न दिन्छन् । मनग्ये घाँस र पानी दिन्छन् । मलाई यस्तै लागेको थियो ।

तर ज्यानको पसिना सेलाएकै थिएन, घरमूली बाले आफ्नो छिमेकीलाई हाम्रो जिम्मा लगाए । त्यहाँ हामीले बयलगाडा तान्नुपर्ने भयो ।

बयलगाडामा अट्नेजति अन्न हालेर हामीलाई हाटबजारमा पुर्‍याउँथ्यो, त्यहाँबाट फेरि सौदापात राखेर गाउँमा ल्याउँथ्यो । त्यो गह्रौं न गह्रौं गाडा तानेर हामी बिहानदेखि झमक्क साँझ पर्दासम्म हिंडिरहनुपर्थ्यो । यसरी हिंड्दा हाम्रो नाक र मुखबाट फिंज आउँथ्यो । मेरो जोडीको काँधको घाउ पाकेर हड्डीसम्म पुगेको थियो । बयलगाडा तान्दा उनको गर्दनमा पिप र रगत बग्थ्यो ।

तैपनि हाम्रो मालिकले गाडामा सामान लाद्न छाड्दैनथे । एकदिन त यति धेरै सामान राख्यो कि बयलगाडाको बोझले हामी दुईलाई जुरुक्कै उचाल्यो । हाट भर्न आएका मान्छेहरुलाई रमिता भो । उनीहरुले हाँसीमजाक गर्दै हाम्रो फोटो, भिडियो खिचे । हामी पनि भइरल भयौं ।

त्यही रात बेस्सरी झरी पर्‍यो । बयलगाडा बाँधिएकै अवस्थामा हामीलाई छाडेर मालिक घरतिर लाग्यो । रातभर हामी पानीमा भिजिरह्यौं । न आरामले सुस्ताउन सक्यौं, न केही खान । त्यसबेला मेरो जोडीले आँखाभरि आँसु बनाएर भनेको थियो, ‘मलाई अब आराम र शान्ति चाहिएको छ । त्यसैले मलाई चाँडै मर्नुछ ।’

नभन्दै ऊ बयलगाडा तान्नै नसक्ने भयो । खान पनि छाड्यो । हाम्रो मालिकले उसलाई अर्कै मान्छेको जिम्मा लगायो । ती मान्छेले मेरो जोडीलाई गढीमाईमा लगेछन्, भाकल बुझाउन ।

त्यहाँसम्म ऊ कसरी हिंड्यो होला ? मान्छेहरुले जथाभावी भाला र खुँडाले घोप्दा ऊ कति चिच्यायो होला ?

आमा, मान्छेको भगवान पनि कति भ्रष्ट है । एउटा निरीह प्राणीको चित्कार सुनेर मख्ख पर्ने । अनि भक्तको मनोकांक्षा पूरा गरिदिने । छि, पापी भगवान !

****

आमा, मभित्र पनि प्राण छ, दुख्छ । मेरो पनि शरीर हो, थाक्छ । म धेरै थाकें । गर्दनमा ट्युमर पलाएछ । त्यो शरीरभर फैलिएछ । म क्यान्सरग्रस्त भएछु ।

म मर्नुअघि नै मेरो शरीरका कोषिकाहरु मर्न थालेको थियो । न मसँग बयलगाडा तान्ने शक्ति थियो, न हलो जोत्ने । आमा, मेरो शरीर जतिबेला पनि थाकिरहन्थ्यो । हड्डी र मांसपेशी दुखिरहन्थ्यो । म कामै नलाग्ने भएछु ।

काम नलाग्ने भएपछि मान्छेले मलाई पराल दिन छाड्यो, पानी दिन छाड्यो । गोठबाट निकाल्यो । र, व्यापारीको जिम्मा लगायो । मेरो रोगी शरीर बेचियो । अब यिनीहरुले मलाई म:म, छोयला, टाँक, ब्याग बनाएर आफ्नो लगानी असुल गर्नेछन् ।

आमा, तिमीपनि त बुढी भइसक्यौं । बच्चा जन्माउँदा जन्माउँदै तिम्रो पाठेघर कामै नलाग्ने भयो होला । तिम्रो ग्रन्थीहरुले दूध उत्पादन गर्न छाड्यो होला । तिमी काम नलाग्ने भयौं होला ।

आमा, हामी जब काम नलाग्ने हुन्छौं, मान्छेले हाम्रो शरीरलाई केवल मासुको थुप्रो देख्छन् । आज हामी मासुका लागि ट्रकमा कोचिएका छौं । हामी मरेतुल्य भइसक्यौं । तर अझैपनि मान्छेहरुले हामीलाई मार्नेछन् । आमा, एउटै जुनीमा हामी कति पटक मर्नुपर्ने ?

भक्तिभावले ‘ओम मणि पद्ये हुँ’ जप्दै मान्छेहरु आँखा चिम्लिरहेका छन् । आमा, हामी स्वयम्भूको नजिकबाट अगाडि बढ्दैछौं । अब बधशाला टाढा छैन । हामीले चाँडै शान्ति पाउनेछौं ।

रातभर ट्रकमा खेपेको यातनाभन्दा त मृत्यु नै सजिलो होला । प्राणले यो शरीरलाई छाडेपछि हाम्रो दुःख पनि सकिन्छ । तर अभागीको दुःख अझै बाँकी रहेछ । सडकमा जाम छ । मान्छेहरु आन्दोलित छन् । भद्र-भलाद्मीहरु सडकमा उभिएका रहेछन्, ‘नागरिक आन्दोलन’ रे । रुस-युक्रेन युद्धमा भएको नरसंहारले यिनीहरुको मन दुखेछ आमा । त्यही भएर ‘युद्ध रोक’ भन्दै भट्याउँदैछन् ।

झमक्कै साँझ परेपछि हामीलाई अर्कै बाटोबाट बधशालातिर लगियो । सायद पशुपतिनाथको सम्मुखमा सन्ध्याकालीन आरती सुरु भइसकेछ । ‘जय जय करुणा सागर’ भजनमा मान्छेहरु स्वर मिलाइरहेका छन् ।

आमा यही तपोभूमिमा अब हाम्रो बलि चढाइनेछ ।

****

मध्य माघको यो चिसोमा हामीलाई वीभत्स बधशालामा पुर्‍याइयो । त्यहाँ बासी रगतको कुण्ड थियो । त्यसैमा लतपतिएको हातहतियार थियो । छाला र सिङको थुप्रो थियो । सिनो गन्हाएर खपिनसक्नु थियो ।

मैले मृत्युअघि आफ्नी स्नेहवती आमालाई हेर्न चाहें । तर त्यो हेर्न सकिने दृश्य थिएन । मेरी आमाको अगाडिको दुवै खुट्टा टनटनी बाँधिएछ, पछाडिको खुट्टा पनि त्यसैगरी बाँधिएछ । अगाडि र पछाडिको खुट्टालाई फेरि एउटै डोरीले कँसेर बाँधिएछ । यसरी नै बाँधेर रातभर चिसो भुईंमा लडाइएछ । त्यो बुढी, रोगी आमालाई यसरी हातपाउ बाँधेर लडाउँदा कति चाहिं कष्ट भयो होला ?

हे, कृष्ण, हे अल्लाह, हे जिसस, हे बुद्ध ! तिमीहरु खै कहाँ छौं ? मन्दिर, मस्जिद, चर्च र गुम्बामा बसेर के स्वाङ पारिरहेका छौं ?

एउटा भुसतिघ्रे आएर आमाकै सामुन्ने उभियो । उसको हातमा फलामको घन थियो । आमाको निधारमा ताकेर तोडले घन बजार्‍यो । आमाको मुखबाट असह्य पीडा र रोदनले मिश्रित अनौठो आवाज निस्कियो ।

तर पापीहरुले अझैपनि मेरी आमालाई मुक्ति दिएनन् । रातभर आमा उसैगरी अर्धबेहोस अवस्थामा छटपटाइरहिन् । बिहानको घाम धर्तीमा खस्न पाएकै थिएन । त्यही भुसतिघ्रे मान्छेले आमाको निधारमा बञ्चरोले हान्यो । आमा तिमी जीवनभर बाँधियौं, बाँधिएरै प्राण त्याग्यौं । मैले टुलुटुलु तिमीलाई हेरिरहें । र, सम्झिरहें म जन्मिएको बखत तिमीले सुमसुम्याएका क्षणहरु ।

आमा तिमीले त दुःख बिसायौं । अब तिम्रो थकान, कष्ट, पीडा, चित्कार, आँसु मिसिएको मासुमा मान्छेहरु हारालुछ गर्नेछन् ।

****

उपसंहार

-मासुका लागि काठमाडौंमा दैनिक औसत एक हजारवटा राँगाभैंसी यातनापूर्वक ढुवानी गरिन्छ । र, बर्बर हत्या गरिन्छ । त्यसमध्ये धेरैजसो भारतबाट ल्याइन्छ ।

-काठमाडौंमा राँगाभैंसी काट्ने २०० बढी बधशाला छन् ।

 आभार 

प्राणीको अस्तित्वलाई सम्मान गर्ने सम्पूर्णलाई

प्रमदा शाह, स्नेहा श्रेष्ठ, प्रभात रिमाल, सिर्जना ठकुरी, इराफान खान, एलिना प्रसाई, रघु आदित्य, सन्तोष थापा, सुराजन श्रेष्ठ, एरिका ढुंगाना, ,प्रकाशबहादुर मल्ल ठकुरी, जेनिफरक जर्ज, विना पन्त,कल्याण सिलवाल, तुला राजवंशी, प्रकाश अजात, भक्त पोखरेल, एनिमल नेपाल, काठमाडौं एनिमल सेभ …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *