प्रेमको नाटक गरेर रकम कुम्ल्याएपछि बलात्कारको मुद्दा हाल्ने देवीलाई उल्टै कैद सजायको आदेश

by

in

सिन्धुली । सिन्धुलीका एक ठेकेदारलाई ‘हनि ट्रयाप’ मा पारी अपराधिक लाभ लिने देवी थापालाई दोषी ठहर गरिएको छ । हनी ट्रयापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगाकी थापालाई काठमाडौं जिल्ला अदालतले आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी थापालाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटालाई पनि दोषी ठहर गरिएको छ । काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ ।

अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो । काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो । थापालाई यसअघि काठमाडौँ जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो ।

थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहरीएर जेलमै थिइन् । एक जुनियर प्रहरी अधिककृतलाई हनी ट्रयापमा पारी १७ लाख रकम असुल गरेपछि थापा र सापकोटाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा थापा २०७८ कात्तिक ९ गते नक्सालबाट पक्राउ परेकी थिइन् ।

थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुंगाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी थिइन् । रकम लिई फिर्ता माग्दा देवी थापाले दिपेन्द्र थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । सो मुद्दामा दीपेन्द्र थापाले सफाइ पाएका थिए । दीपाको माइती ओखलढुंगा भएपनि उनले ओखलढुंगा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् ।

गाउँघरकै मान्छेको चिनजान मार्फत उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् । प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको सम्बन्ध सिन्धुलीकै ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको सम्बन्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भागिन् ।

प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वाम पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए । पछि अदालतबाटै सम्बन्धविच्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अदालतमा सम्बन्धविच्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।

दीपा र प्रकाशको सम्बन्धविच्छेद भएको करिब ५ वर्ष भयो । त्यसपछि भने दीपा सिन्धुली छाडेर कपन तथा बौद्ध एरियामा बस्न थालिन् । यहीबीचमा सिन्धुलीका ती ठेकेदारलाई आफूसँग विवाह गर्न दबाव दिन थालिन् । कि आफूसँग विवाह गर, नभए पैसा देऊ भन्दै दबाव दिएको ठेकेदारका आफन्त बताउँछन् । विवाह पनि नगर्ने र पैसा पनि नदिने भए नातासम्बन्ध कायम गराउँछु र बलात्कारको मुद्दा लगाइदिन्छु भन्दै धम्काउन थालेपछि ती ठेकेदारको परिवारले दीपालाई ४५ लाख रुपैयाँ बुझाएको ठेकेदारका आफन्तले सुनाए ।

अर्काकी श्रीमती भनेर जान्दा जान्दै दीपासँग लहसिएका ती ठेकेदारले सुरुमै आफ्नो खेत बन्धकी राखेर २५ लाख रुपैयाँ सहकारीबाट निकालिदिएका थिए । पछि थप तनाव दिन थालेपछि उनले थप २० लाख रुपैयाँ दिएर केस त मिलाए, तर ठेकेदारको खेत भने लिलामीमै गयो ।