डाक्टरले आफ्नै रगत दिएर बचाए बालकको ज्यान

by

in

मुगु — शरीरमा आइरनको कमी भएर रगत अभाव भएपछि अस्पताल भर्ना भएका छायाँनाथ रारा नगरपालिका-१४, बाम गाउँका १ वर्षीय बालक मिस्सी बडुवाललाई चिकित्सकले आफ्नै रगत दिएर ज्यान बचाएका छन् । बडुवाललाई उनका बाबुआमाले शुक्रबार दिउँसो अस्पताल पुर्‍याएका थिए ।

डाक्टरले आफ्नै रगत दिएर बचाए बालकको ज्यान

बच्चाको शरीरमा आइरनको कमी भएर रगत अभाव भएको र त्यहीकारण ज्यान जोखिममा परेको देखेपछि जिल्ला अस्पतालका डा. अर्जुन भाम आफैँले एक प्रिन्ट रगत दिएका थिए । डा.भामले बच्चालाई आवश्यक पर्ने बी-पोजेटिभ रगत तत्काल नपाउने अवस्था बनेपछि आफैँ रगत दिएको बताए ।

‘बच्चाको शरीरमा रगतको अभाव भएको रहेछ । त्यहीकारण उसलाई झन् जोखिम हुने अवस्था भयो । फेरि बी पोजेटिभ रगत पनि पाइएन,’ उनले भने, ‘आफ्नै ब्लड ग्रुप मिलेका कारण आफैँ रगत दिनु उपयुक्त ठानेँ ।’

जिल्लामा ब्लड बैंक छैन । रगत अभाव भएका बिरामी आउँदा तत्कालै रक्तदाता खोज्नुपर्छ, कि जिल्लाबाहिर लैजानुपर्छ ।

‘ब्लड बैंक छैन । रगत चाहियो भने तत्कालै कसको ब्लड ग्रुप के छ भनेर खोजी गर्नुपर्छ । पाए ठीकै हो, नभए बिरामीको ज्यानै अवस्था हुन्छ,’ डा.भामले भने ।

जिल्लामा मानिसहरु रक्तदान गर्नसमेत हिच्किचाउने गरेको उनले बताए । ‘ब्लग ग्रुप मिलेपनि मानिसहरु सबै ब्लड दिन तयार हुँदैनन् । रक्तदानको बारेमा सबैलाई राम्रो ज्ञान समेत छैन,’ उनले भने ।

जिल्ला अस्पतालमा बिरामीलाई ब्लडको आवश्यकता भए नेपाली सेना, सशस्य प्रहरी र नेपाल प्रहरीका जवानहरुले दिने गरेका छन् ।

२०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा अहिलेसम्म रक्त सञ्चार केन्द्र छैन । जिल्ला अस्पतालको एम्बुलेन्ससमेत बिग्रिएर थन्किएका कारण बिरामीलाई सुविधासम्पन्न अस्पताल पुर्‍याउन समेत असहजता छ ।

चार महिनादेखि जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । तर मर्मतसम्भार गरिएको छैन । त्यस्तै, अस्पतालमा एक्स-रे मेसिनदेखि अन्य उपकरण समेत सञ्चालनमा नरहेको अस्पतालले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *