पाँच महिनादेखि काठेसाँचोमा यसरी बस्नुपर्ने अवस्था कसरी सिर्जना भयौ !

by

in

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका २ फलाटेस्थित डाँडागाउँको झुप्रो घरमा बस्छन् राम उप्रेती । घरको एक छेउमा बारबेर गरिएको साँघुरो कोठाको भीत्तापट्टि खाँबो गाडिएको छ। त्यही खाँबोमा काठे साँचोले हात बन्द गरी राखिएका छन् ३० वर्षीय उप्रेती ।

कमजोर आर्थिक अवस्थाका उप्रेतीको मानसिक सन्तुलन गुमेपछि गत असार महिनादेखि उनको परिवारले यसरी काठेसाँचोमा हातखुट्टा बाँधेर राखेका हुन् । उप्रेतीकी श्रीमति र एक वर्षीय छोरी छन् । ६० वर्षीय आमा पनि बौद्धिक अपांग छिन् । यस्तो अवस्थाका श्रीमान, नाबालिक छोरी र आमाको स्याहारसुसार गर्ने जिम्मेवारी उनकी श्रीमति मञ्जुको काँधमा छ ।

शैक्षिक रुपमा निरक्षर मञ्जुले आफ्नो समस्या जोकोहीसँग राख्न नसकेका कारण प्रायः छिमेकी र जनप्रतिनिधिहरू उप्रेती परिवारको समस्यासँग बिरलै मात्र जानकार छन् । उप्रेतीको उपचारका लागि जिम्मेवारी बहन गर्ने सदस्य नरहेकै कारण लामो समयसम्म उनलाई काठेसाँचोमा राख्नु परेको स्थानीय वडाध्यक्ष भीम हेम्ब्याल बताउँछन् ।

गत असार अन्तिममा अचानक मानसिक सन्तुलन गुमेर बालबालिकामाथि आक्रमण गर्नुका साथै जोसुकैमाथि जाइलाग्न थालेपछि स्थानीयले उप्रेतीलाई आफ्नै घरमा काठेसाँचो बनाएर हातपाउ बन्द गरिदिएका थिए।

त्यसयता उनको हातको काठेसाँचो अझै खोलिएको छैन । उप्रेतीलाई श्रीमतिले खानेकुरा त्यहीँ लगेर दिन्छिन् । दिसापिसाव त्यहीँ गर्छन् । ओढ्ने ओछ्याउने कपडाको पनि अभाव छ । निद्रा लाग्दा चिसो भुइँमै निदाउँछन् । स्वास्थ्य समस्याले च्याप्दा एक्लै बर्बराउँछन् र चिच्याउँछन् ।

मानसिक सन्तुलन बिग्रेको चार महिना बित्दासम्म उनलाई उपचारका लागि कुनै अस्पताल वा स्वास्थ्य संस्थामा लगिएको छैन । ‘उपचार गर्न धेरै पैसा लाग्छ होला, कहाँ लानु कसरी लानु पत्तो छैन, सरकारले उहाँलाई निको पारिदेला भन्ने आशा छ,’ उप्रेतीकी पत्नी मञ्जुले भनिन् । यत्ति कुरा भनिसक्दा मञ्जुको गला पटकपटक अवरुद्व भयो ।

‘उपचार खर्च जुटाएर राम्रो अस्पताल पठाउन खोज्दा परिवारबाट संरक्षकका रुपमा सँगै गइदिने मान्छे पनि कोही भएन, तैपनि वडा कार्यालयका तर्फबाट उपचारका लागि प्रयत्न गरिरहेका छौं, ’ वडाध्यक्ष हेम्या भन्छन् ।

त्यसो त बिरामी अवस्थाकी सासू र श्रीमानसँगै सानी छोरीको हातमुख जोर्ने जोहो मञ्जुले बनिबुतो गरेरै जुटाउनु पर्छ । गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले भने उप्रेतीको अवस्थाबारे यसअघि कहीँ कतैबाट आफूले जानकारी नपाएको बताए । तर हाल यसबारे सोधखोज गर्दा अवस्था हेरेर पालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने उनले प्रतिबद्धता दिएका छन्। चार महिनादेखि निरन्तर काठेसाँचोमा राख्दा उप्रेतीको शरीर दुब्लाउनुका साथै स्वास्थ बिग्रँदो अवस्थामा पुगेको देखिन्छ ।