कल्पनासम्म पनि गर्न नसकिने बज्रपातमा सृष्टि, जन्मदिने बाबु–आमासहित श्रीमान् र छोरा–छोरी पनि एकैपटक खोस्यो दैवले…

by

in

काठमाडौं । लाजिम्पाटस्थित नेपाल आस्थमा एलर्जी सेन्टरमा कार्यरत बालरोग विशेष डा. महेश महेश कुमार गौतम पृथ्वीजयन्तीका अवसरमा बिदा पारेर सम्पूर्ण परिवारसहित घुम्न गएका थिए । उनले पृथ्वीजयन्ती अर्थात् राष्ट्रिय एकता दिवसका अवसरमा परिवारसहित घुम्न गएका तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

उनी घरबाट घुम्न त गए, तर शनिबारको मध्यदिन उनको आफन्त र तमाम संगी–साथीहरुको लागि कालो दिन बनेर आयो । उनले चलाएको प्र.३–०१–२३ च ६९८५ नम्बरको कार काठमाडौंबाट चित्लाङतर्फ गइरहेको अवस्थामा चन्द्रागिरी नगरपालिकाको पानीघाटभन्दा माथि सेतोपहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा उनीसहित उनका दुई सन्तान र सासु–ससुराले ज्यान गुमाए ।

उक्त कहालीलाग्दो दुर्घटनामा डा. गौतमसहित चारजनाले घटनास्थलमै ज्यान गुमाएका थिए भने उनकी छोरी स्मारिका गौतमको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको जनाइएको छ ।

गाडीमा सवार ६ जनामध्ये डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी भने सकशुल रहेको जनाइएको छ । काठमाडौं लाजिम्पाटका डा. गौतम बिदाको दिन मैतीदेवी बस्ने ससुरा र सासुलाई लिएर घुम्न गइरहेको बेला दुर्घटनामा परेको उनका एक छिमेकीले जनाए । गौतमसहित आफ्ना छोरा र छोरीसहित बाबुआमा पनि गुमाएकी सृष्टि एक्लै भएकी छिन् । बिदाका अवसरमा घुम्न जाँदा छोरा–छोरी, बाबु–आमासहित श्रीमान् समेत गुमाएकी सृष्टिमाथि कल्पना सम्म पनि गर्न नसकिने बज्रपात परेको छ ।  आफ्ना पाँच जना आफन्त गुमाएको दुर्घटनामा सँगै रहेकी सृष्टि शारिरीक रुपमा सकुशल नै रहे पनि मानसिक रुपमा भने जिन्दगीभर निको नहुने बज्रपातमा परेकी छिन् ।

उक्त दुर्घटनामा कारमा सवार काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडाैं महानगरपालिका-२ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम  र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो भने ६ वर्षीया स्मारिका गाैतमको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अहिले डा. गौतम र उनका सन्तानसहित पाँचै जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

घुम्नका सौखिन डा. गौतम हरेक बिदाको दिन परिवारसहित घुम्न जाने गर्दथे । ‘सधैंको दिन एकनासको नहुँदो रहेछ, आज यस्तो घटना भयो,’ गौतमका एक साथीले भावविह्वल हुँदै भने ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *