कञ्चनपुरको बेलौरीमा दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार भएकी निर्दयी आमा

by

in

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेकी नाबालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने उनकी आमा हालसम्म फरार रहेकी छन्। जिल्लाको पुर्नवास नगरपालिका-२ अमरैया कि शर्मिला चौधरीले १४ महिने छोरीलाई उखुबारीमा बाँधेर फरार भएकी हुन्।

बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले नाबालिकाको उद्दार गरेका थिए।

सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएकी नाबालिकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो।

उनलाई उद्दार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो।

त्यसक्रममा शिशुकी आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ। शिशुलाई शर्मिलाकी आमा रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताए।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानासहितका जनप्रतिनिधि, दुवै नगरपालिकाका महिला विकास शाखाका संयोजक तथा स्थानीय कर्मचारी, पत्रकार लगायतको रोहबरमा प्रहरीले शिशुलाई अभिभावकको जिम्मा लगाएको हो।

उता शर्मिलाले बिहीबार साँझ शिशुलाई लिएर माइत घरबाट हिँडेकी खुलेको छ। परिवारका सदस्यहरूको भनाइ अनुसार उनी श्रीमानको घर जाने भन्दै त्यहाँबाट निस्किएकी हुन्। तर, उनका आमाबुवालाई पनि बच्चाको बुवा को हुन् भन्नेबारे अझै जानकारी छैन।

शर्मिलाले केही समय सेती प्रादेशिक अस्पताल धनगढीमा बच्चा जन्माएकी हुन्। त्यही बेला पनि शिशु छोड्नको खोजेको तर, प्रहरीको सहयोगमा उनलाई घर लगिएको स्थानीयले बताएका छन्।

शिशु भेटिएको केही समयपछि शर्मिलालाई फोन गरिएको थियो। उनले आफू डडेल्धुरामा रहेको बताएकी थिइन्। तर, त्यसपछि शिशुको बारेमा कुरा गर्दा उनले मोबाइल अफ गरेको पुर्नवास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मरबहादुर थापाले बताए।