बस, जिप, ६ वटा मोटरसाइकल तथा स्कुटर आपसमा ठोक्कियो, २० जना घाइते

by

in

भरतपुर । चितवनको भरतपुर महानगरपालिका ९, स्थित टिकौली जंगलमा आज (बुधबार) बिहान भयानक सवारी दुर्घटना भएको छ ।

टिकौली जंगलमा बिहान ११:४० बजे एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।s

घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सख्त घाइते हुनेमा चितवनको खैरहनी नगरपालिका ४ बस्ने ६५ वर्षीय कृष्णबहादुर तामाङ, खैरहनी १ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका १४ का ५५ वर्षीय कुसुमबहादुर राना, रत्ननगर-१४ का ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर ९ बस्ने ३५ वर्षीय किशोर तामाङ, रत्ननगर १४ का ५५ वर्षीय डोलबहादुर कार्की र मकवानपुर हेटौंडा १४ का ६५ वर्षीय मोहन तामाङ छन् ।

अन्य १३ जना घाइतेहरुको अवस्था मध्यम छ । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.१क ६१३१ नम्बरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना.२च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा बागमती प्रदेश ०६-००१प ९९८१, बा.प्र ०३-००५ प ९७, ,ना.६२प ६०३२, बा.प्र. ०३-००१प ४१४७ नम्बरको मोटरसाइकलहरु, बा. प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नम्बरको स्कुटरसहितका सबै सवारीसाधन आपसमा ठक्कर खाएको थियो । प्रहरीले कलेज बसका चालक नवलपुरको गैंडाकोट नगरपालिका ९ का २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।s