आमाको अगाडि दुई छोरीको बलात्कार र हत्या आरोपमा चार जनालाई मृत्युदण्ड !!

by

in

भारतको हरियाणामा आमाको अगाडि दुई छोरीको सामूहिक बलात्कार र विषादी खुवाएर हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । हरियाणाको सोनीपतस्थित फास्ट ट्रयाक अदालतकी न्यायाधीश सुरुचि अतरेजा सिंहले सामूहिक बलात्कार र विषादी खुवाएर हत्या गरिएको बहुचर्चित घटनामा चार अभियुक्तलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएकी हुन् ।

अदालतले बिहारको दरभंगा मजगही गाउँका अरुण पण्डित, मसाहोरी गाउँका फूलचन्द, झकेलीका दुखन पण्डित र समस्तीपुरको बाडा गाउँका रामसुहागलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले चारै दोषीलाई जनही ३० हजार जरिवानासमेत गरेको छ । बहुचर्चित मुद्दामा दुई वर्ष, एक महिना र १० दिनमा यो फैसला आएको हो ।

के थियो घटना ?
बिहारकी स्थायी बासिन्दा एक एकल महिला सन् २०२१ अगस्ट ५ को राति हरियाणाको एक भाडाको कोठामा १३ र १५ वर्षकी छोरीहरूसँग सुतिरहेकी थिइन् । छोराहरू भने छतमा सुतिरहेका थिए । राति करिब १२ बजे आमा र छोरीहरू सुतिरहेको कोठामा चार युवा प्रवेश गरेका थिए । जेठी छोरीलाई अरुण र फूलचन्द सदा र कान्छी छोरीलाई दुखन पण्डित र राम सुहागले सामूहिक बलात्कार गरेको पीडित महिलाले बताएकी थिइन् ।

बलात्कारपछि दुवै बालिकालाई कीटनाशक औषधि खुवाएर गरियो हत्या
बलात्कार गरेपछि दुवै बालिकालाई युवाहरूले कोठामा राखेको कीटनाशक औषधिसमेत खुवाइदिएका थिए । जसका कारण उनीहरूको अवस्था बिग्रियो । आरोपितहरूले बालिकाहरूकी आमालाई यो कुरा कसैलाई बताएमा छोराहरूलाई मार्ने धम्की दिएका थिए ।

छोरालाई मार्ने धम्कीको डरले महिला चुपचाप बसिन् । उनी छोरीहरूसँगै रातभर छतमा गएर बसिन् । बालिकाहरूको अवस्था बिग्रिएपछि दिल्लीको नरेलास्थित राजा हरिश्चन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।

सुरुमा महिलाले स्थानीय प्रहरी चौकीमा छोरीहरूको सर्पदंशका कारण मृत्यु भएको बताएकी थिइन् । तर घटना शंकास्पद देखिएपछि गरिएको पोस्टमार्टममा बालिकाहरूमाथि सामूहिक बलात्कार र विषादीसमेत खुवाइएको खुलेको थियो । यो मुद्दाको सुनुवाइ २०२१ अक्टोबर ८ बाट चलिरहेको थियो ।