स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, लुम्बिनी क्षेत्र तनावग्रस्त

by

in

रुपन्देहीमा स्कुल बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका- ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा सिद्धार्थ बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् । वर्ष २१ कै अप्सरा खातुन घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टले जानकारी दिए ।

स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त हताहत भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन् । आगलागीबाट बस पूर्ण रुपमा क्षती भएको छ ।

घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयको प्रदर्शनले उक्त सडकखण्डको आवतजावत ठप्प बनेको छ ।