दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ भाइरल !!

by

in

लामो समयदेखि हिंसा भइरहेको भारतको मणिपुर राज्यमा दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ अहिले भाइरल भएको छ । यो भिडिओका कारण भारतभर नै तरंग उत्पन्न भएको छ । मणिपुरमा मैतेई र कुकी समुदायबीच झण्डै दुई महिनायता झडप भइरहेको छ ।

राज्यमा हिंसा जारी नै रहँदा बुधबार सार्वजनिक भएको भिडिओले भारतको राजनीतिमा हलचल नै मच्चाएको छ । भिडिओमा कुकी समुदायका दुई महिलालाई हतियार बोकेका २०–२५ जना युवाको समुहले नाङ्गै घुमाइरहेको देखिन्छ । नाङ्गै परेड खेलाउने क्रममा युवा समूहले महिलाका गोप्य अंग चलाइरहेको समेत देखिन्छ ।

दुवै महिला निकै डराएका छन् । उक्त भिडिओ मे ४ तारिखको भएको बताइएको छ । दंगा सुरु भएको दोस्रो दिन नै उक्त कुकर्म भएको थियो । तर, अहिले भिडिओ सार्वजनिक भएको हो । भिडिओमा देखिने महिला एक जना २१ र अर्को ४२ वर्षका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही सञ्चारमाध्यमले पीडित महिलासँग गरेको कुराकानीमा आफूहरूलाई कपडा नखोले तत्कालै मार्ने धम्की दिइएको बताएका छन् । सँगै नियन्त्रणमा लिएका दुईजना कुकी पुरुषलाई नजिकै खेतमा हत्या गरेपछि महिलालाई कपडा खोल्न लगाएर नाङ्गै घुमाइएको थियो । भिडिओ हेरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो हृदय पीडाले भरिएको बताएका छन् ।

संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री मोदीले यो घटनाले देशकै बेइज्जत गरेको भन्दै दोषीलाई कडा कारबाही गर्ने बताएका छन् । मणिपुरमा हिंसा सुरु भएयता प्रधानमन्त्री मोदीले पहिलोपटक त्यसबारे प्रतिक्रिया दिएका हुन् ।

विपक्षी दलले भने यो घटनालाई लिएर सरकारको आलोचना गरेका छन् । मणिपुर प्रहरीले यो घटनामा अपहरण, सामूहिक बलात्कार र हत्याको मामिलामा अज्ञात समूहविरुद्ध उजुरी दर्ता गरिएको जनाएको छ । मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषिलाई फाँसीको सजाय दिलाउन प्रयास गर्ने बताएका छन् ।

घटनामा संलग्नमध्ये अहिलेसम्म एकजना पक्राउ परेका छन् । भारतको सर्वोच्च अदालतले पनि यसमा चासो राख्दै स्वतस्जानकारीमा लिएको जनाएको छ । पूरै घटनाबारे २८ जुलाईमा सुनुवाइ हुने तय गरिएको बीबीसीले जनाएको छ ।