काठमाण्डाै लैजाने तयारी गर्दागर्दै खाेटाङमा १० दिनकी सुत्केरीकाे ज्यान गयाे

by

in

खोटाङ – खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएकाे हो ।

यही कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमवार राति जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी गर्दागर्दै ज्यान गएकाे हो । श्वास फेर्न अप्ठ्यारो भएपछि जेनिसालाई सोमवार बिहान जिल्ला अस्पताल लगिएको थियो तर एक्स–रे लगायतका जाँचका क्रममा सामान्य देखिएपछि उहाँ घर फर्किनुभएकाे थियाे । राति पुनः श्वास फेर्न अप्ठ्यारो भएपछि उहाँलाई अटो रिक्सामा राखेर जिल्ला अस्पताल लगिएको थियो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाण्डाै लैजाने तयारी गर्दागर्दै सुत्केरीको ज्यान गएकाे बाम्राङका वडाध्यक्ष महेन्द्र राईले बताउनुभयाे ।

जेनिसा खोटाङ अटोलिङ्क प्रालिमा कार्यरत हुनुहुन्थ्याे । जमेको रगत फोक्सोमा पुगेका कारण श्वासप्रश्वासमा समस्या निम्तिएर सुत्केरीको ज्यान गएको जिल्ला अस्पतालका डा. रमेश श्रेष्ठले बताउनुभयाे । उहाँका अनुसार सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो । जेनिसाले जिल्ला अस्पतालमै सामान्य अवस्थामा छाेरीलाई जन्म दिनुभएकाे थियाे ।