खोटाङकी सुनिता सुनसरीमा आफ्नै घरमा मृत फेला

by

in

खोटाङ, २७ फागुन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे इजारा ठेगाना भइ हाल सुनसरी बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर निवासी सुनिता चाहार मृत फेला परेकी छन् । बतासे इजाराका किरण चाहारसँग १६ वर्षअघि विवाह गरेकी ३० वर्षीय सुनिता फागुन २४ गते आफ्नै घरमा मृत फेला परेकी हुन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा माइती भएकी सुनिता श्रीमान घरमा नभएको र छोराछोरी विद्यालय गएको अवस्थामा फ्यानमा पासो लगाएको अवस्थामा फेला परेकी थिईन् । तर उनको मृत्युलाई माईतीपक्षले शंकास्पद मानेका छन् । श्रीमानले बारम्बार कुटपिट गर्ने गरेको, झुण्डिएको शवभन्दा अलि पर पिसाव फेरेको देखिएको, घटनाको बेला घरको ढोकाको चुकुल नलगाएको लगायतका आधारमा सुनिताको मृत्यु शंकास्पद देखिएको दाजु देवराज बिकले बताए ।

खोटाङबाट माईती पक्ष सुनसरी पुगेपछि सुनिताको फागुन २६ गते मात्र पोष्टमार्टम गरिएको छ । चाहार दम्पत्तीका एक छोरा र एक छोरी छन् । स्कुलबाट घर फर्किएकी छोरीले उनलाई झुण्डिएको अवस्थामा फेला पारेकी थिईन् ।

दाजु देवराजका अनुसार माइती आएकोबेला गत मंसिर ६ गते राती किरणसहित चार जनाको समुह आएर सुनितालाई कुटपिट गरेका थिए । सुतिरहेकी सुनितालाई घाँटीमा न्याकेको र सासु आमा जानुका बिकलाई लछारपछार गरेका थिए । किरणले गत मंसिरमा दोश्रो विवाह गरेका थिए तर त्यी महिलासँग उनको सम्वन्ध टुटिसकेको छ । सुनिताको शंकास्पद मृत्यु भएको भन्दै माईती पक्षले किरण विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दिने जनाएको छ ।