दुई भारतीय व्यवसायीको अपहरण गरी फिरौती असुल्ने गिरोहका मुख्य नाइके राजन पक्राउ

by

in

टुडेपाटी–

जनकपुरधाम, फागुन २६ गते ।

भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके बिराटनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी ४० वर्षीय राजेश भन्ने राजन माझी छन् ।

Sponsored

मधेश प्रदेश प्रहरी कार्यालय, मोरङ प्रहरी र महोत्तरी प्रहरीको संयुक्त टोलिले गत बुधबार उनलाई पक्राउ गरेको हो । बिराटनगरको कञ्चनवारीको खड्का होटेलबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन दहालले जानकारी दिए ।

डिएसपी दहालका अनुसार उनी अन्य पनि अपराधिक घटनामा संलग्न देखिएका छन् । चारवटा चोरीडाकासहितको मुद्दा उनीमाथि अदालतमा चलिरहेको छ । डाँका मुद्दामा नै तिव्र खोजिमा रहेका उनलाई पक्राउ गरेर गत बिहीबार जिल्ला अदालतम मोरङमा पेश गरिएको डिएसपी दहालले बताए ।

महोत्तरी प्रहरीका अनुसार गत पुस र माघ महिनामा भारत बिहारको सितामढी जिल्ला सोनवर्सा बजारका दुईजना व्यवसायीलाई अपहरण घटनाका राजन मुख्य नाइके हुन् । फिरौती माग्नेको मोबाइलमा आबाज उसैको जस्तो देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले बताए ।

Sponsored

गत माघ १६ गते सोनवर्सा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार अपहरणमा परेका थिए । उनलाई अपहरणकारी गिरोह नेपाल ल्याएर तीन करोड रुपैयाँबाट बार्गेनिंग गर्दै अन्तमा ५० लाख भारतीय अर्थात ८० लाख नेपाली रुपैयाँ फिरौती लिएर माघ २६ गते बिहान सर्लाहीको संग्रामपुर स्थित नेपाल भारत सीमा नजिक मुक्त गरेका थिए ।

सोनवर्साकै औषधि व्यवसायी कामेश्वर राय पनि २ डिसेम्बरमा अपहरण गरी सोही गिरोहले नेपाल ल्याएको थियो । पाँचदिन पछि ३० लाख रुपैयाँ भारु अर्थात ४८ लाख रुपैयाँ नेपाली फिरौती लिएर उनलाई ७ डिसेम्बरमा अपहरणकारीले महोत्तरीको सम्सीबाट मुक्त गरेको थियो ।

‘यी दुबै अपहरण घटनामा उनको गिरोहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । फोनमा फिरौती माग्दाको भोइस पनि उसकै रहेको जस्तो देखिन्छ । उनी खतरनाक अपराधी हुन्’ डिएसपी गिरीले भने ।

डिएसपी गिरीका अनुसार पक्राउ परेका राजनको बिराटनगरमा केही अपराधिक मुद्दा रहेकाले उत्ता कारबाही सकिएपछि महोत्तरी ल्याएर शरीर बन्धक मुद्दा चलाइने छ । उनीमाथि अझ् अनुसन्धान गर्नु पर्ने डिएसपी गिरीको भनाइ छ ।