गाडिएको १२ वर्षीय बालकको शव निकालेर प्रहरीले समात्यो बुवाआमा

by

in

छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा वीरगन्ज महानगरपालिका-१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएको र घटनाको अनुसन्धानका लागि बाबु शम्भु र उनकी पत्नी सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ । बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।