भारतको मुम्बईमा किशोरी बेच्न लग्दै गरेको आरोपमा धनुषाकी २ किशोरीसहित ४ महिला पक्राउ अप्पन जनकपुर

by

in

जनकपुरधाम । धनुषाकी दुई किशोरीलाई भारतको मुम्बईमा बेचिन लग्दै गरेको अवस्थामा भारतीय प्रहरीले दुई किशोरीसहित चार महिलालाई पक्राउ गरेको छ ।

बुधबार राती धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ बस्ने एक युवतिले सोही गाउँकी अन्य दुई किशोरीलाई ललाईफकाई भारतको मुम्बईमा बेच्न लग्दै गरेको अवस्थामा भारतको जयनगरबाट पक्राउ परेको भारतीय प्रशासनले जनाएको छ ।

बुधबार दिउँसै घरबाट दुई किशोरीलाई लिएर निस्केकी स्थानीय एक युवतिले जयनगरबाट भारतको दिल्ली हुँदै मुम्बई सम्म लैजाने योजना बनाएकोमा टिकट लिने बेलामै शँका लागेर चेकजाँच गर्दा पक्राउ परेको हो । रेल्वेमा खटिएको प्रहरी र मानव बेचविखन विरुद्धको सुरक्षा निकायको अधिकारीले उनीहरुको हातमा प्रश्नचिन्ह लगाईदिएपछि उनीहरुलाई तत्कालै पक्राउ गरी सेफ हाउसमा राखिएको हो ।

विदेह नगरपालिका वडा नम्बर ६ बस्ने दिपेन्द्र महतो पासीकी श्रीमति सुदामा देवी महतोलाई मुख्य नाईके बताईएको छ । उनले नै दुई किशोरीलाई ललाईफकाई भारत पुरयाउन लाग्दा स्टेशनमै पक्राउ परेको जनाईएको छ ।

जानकारी अनुसार, सुदामाकी छोरीले समेत यस कार्यमा संलग्न रहेकी हुन् । भारत पुरयाउनको लागि बनाइएको योजना रेल्वे स्टेशनमै सकिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

यता, धनुषा प्रहरीले भने जयनगरमै उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको जानकारी दिएको हो । ईलाका प्रहरी कार्यालय खजुरीले समेत भारतको जयनगरमा उनीहरुलाई मुद्दा चलाएको र किशोरीलाई सेफ हाउसमा राखिएको जानकारी दिएको हो ।

जानकारी अनुसार, काम गर्नको लागि सुदामासँग ती दुई किशोरी गएको बुझिएको छ । परिवारको सहमतिमै काम गर्नको लागि भारत काम गर्न गईरहेको बेला पक्राउ परेको बताईएको छ र यसै सन्दर्भमा अनुसन्धान भईरहेको जनाईएको छ । मानव बेचबिखनको घटना नरहेको पनि दाबी गरिएको छ ।

सोही क्रममा भारतीय एक महिला पक्राउ परेकी हुन् । किशोरीहरुलाई मुम्बईसम्म लिएर जाने एक भारतीय महिला एजेन्ट पक्राउ परेकी हुन् ।