काठमाडौंको यी क्याफे र गेष्टहाउसमा नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ

by

in

काठमाडौं । आर्थिक लाभ लिई नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दोलखा भिमेश्वर–१ बस्ने आशा लामा भनिने लालमाया तामाङ पक्राउ परेकी छिन्। उनलाई काठमाडौंस्थीत जडिबुटीबाट मानब बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। जडिबुटीमा सञ्चालित टिमुरे क्याफे र चरिकोट गेष्टहाउसमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाएको सूचनाका आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी टोलीले माघ ८ गते दुई जना नाबालिकाहरुको उद्धारसँगै ३६ वर्षिया तामाङ समातिएकी हुन्। तामाङले घरको आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको ब्यूरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले बताए।

‘नाबालिकाहरुलाई तीन वर्ष देखी विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग रकम लिई शारिरीक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडित युवतीहरूलाई दिने गरेको खुलेको छ,’ उनले भने, ‘नाबालिकाहरुलाई जवरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने गोप्य सूचनाको आधारमा ब्यूरोबाट खटिएका टोलीले दुई जना पीडित बालिकाहरुलाई उद्धार गरेर अहिले सुरक्षित आवासमा राखेका छौँ।’

सुरुमा बालिकाहरुलाई क्याफे र गेष्टहाउसमा वेटरको काममा लगाउने र केही समयपछी ललाई फकाई प्रलोभनमा पारी तामाङले नै संचालन गर्ने चरिकोट गेष्ट हाउसमा राखि देहव्यापारमा लगाएको आरोप ब्यूरोको छ। नाबालिकालाई यौनकार्यमा लगाउने उक्त तामाङ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाडौंं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जानकार गराएको छ। यस क्रियाकलापमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजतलास तथा थप अनुसन्धान कार्य भई ब्यूरोले जानकारी गराएको छ।