कुवेतमा बन्धक आमाको उद्धारमा हिँडेका यी दाजु बहिनी

by

in

काठमाडौँ । ‘दशैँको टीकाको दिन मध्यरातमा आमाले हामीलाई भिडियो कल गर्नुभयो । उहाँ बेस्सरी रुनु भयो । आमा रोएको देखेपछि हामीले पनि आफूलाई सम्हाल्नै सकेनौँ । यही बेला आमामाथि आक्रमण भयो । भिडियो कलमा हामीले आमा रोइरहेको, चिच्याइरहेका सुन्यौँ,’ नवीन र मनिषा दाजु बहिनीले गहभरी आँसु बनाए । आमा बन्धक भएको ठाउँबाट उद्धारका लागि रोइरहेको भन्दै दाजु बहिनीले दुई हात जोड्दै सोधे ‘सर हाम्रो आमालाई सकुसल नेपाल ल्याउन सकिन्छ ?’

नारायण नगरपालिका–११ टाटामाखु दैलेखका नवीन सुनार १९ वर्षका मात्रै भए । बहिनी मनिषा १२ वर्षकी मात्रै । बहिनी गर्भमै रहेको बेला १२ वर्षअघि बाबुले अर्कै श्रीमती लिएर घर छोडे । आमा खगिसराले संघर्षको पहाड फोड्दै भाइ, बहिनी र उनलाई हुर्काइन् ।

तीन जनाको परिवार जसोतससो चल्दै थियो । बढ्दै गएका छोराछोरी र उनीहरु माथिको आर्थिक दायित्वका कारण घर आर्थिक शंकटमा प¥यो । छोरा छोरी हुर्काउन आमा खगिसरा वैदेशिक रोजगारीमा जाने तयारीमा लागिन् ।

२०७९ असोजमा विदेश गएका मानिसहरु समेत घर फर्कदै थिए । तर, नवीन र मनिषाकी आमा रोजगारीका लागि विदेश जाने भन्दै छोराछोरीलाई भाडाको कोठामा राखेर काठमाडौँ आइन् । तीन महिना काठमाडौँमा भौतारिएपछि गत पुसमा खगिसरा भारतको बाटो हुँदै घरेलु महिला कामदारको रुपमा कुवेत पुगिन् । घरेलु कामदारका रुपमा कुवेत पुगेकी खगिसराले केही समय काम गरिन् ।

छोरा नवीन सुनारका अनुसार सुरुमा खगिसराले घरमा पैसा पनि पठाएकी थिइन् । तर, केही समयपछि उनी घरेलु कामदारको रुपमा रहेको घरबाट निकै दबाब र यातानाको शिकार भइन् । ‘साहुनीले कुट्पिट गर्ने गरेको भन्दै आमा हामीसँग रुनु हुन्थ्यो,’ छोरा नवीन र छोरी मनिषाले आमाको पीडा सुनाए, ‘हामीलाई कठिन हुन्छ होला भनेर आमाले धेरै पीडा नभनेको जस्तो लाग्छ । जब पहिलो पटक आमा रुनुभयो । भिडियो कलमै आमामाथि आक्रमण भएकोे हामीले देख्यौँ । हामीलाई हरेक दिन बेचैन भइरहेको छ ।’


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *