हलोजुवामा नारिएर मोही किसान सडकमा [फोटो फिचर]

by

in

दाङ — कोही मानिस गोरु जस्तै जुवामा नारिएका त कोही उनीहरुलाई जोत्दै हलो समाइरहेका । अनि खेती किसानीका बेला ओढ्ने छत्री, कोदालो, फरुवा र अन्य कृषि उपकरण बोकेका । भीडले बिहीबार दिउँसो घोराही बजारको सडक ढपक्कै छोपियो । बजारबासी र पैदलयात्रीहरु अचम्म मान्दै फोटो र भिडियो खिच्न थाले । हलोजुवामा आफैँ नारिएर सडकमा उत्रिएका किसानले सांकेतिकरुपमा सडकमै जोते ।

जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको हलोजुवामा नारिने यात्रा जिल्ला समन्वय समिति, वीपी चोक, शहिद गेट हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भयो । फागुन ८ गते रातिदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेट अगाडि धर्ना दिइरहेका स्वर्गद्वारी गुठीका मोही किसानले लामो समयसम्म पनि सरकारले आवाज नसुनेपछि बिहीबार दिउँसो पशु जस्तै भएर सडकमा प्रदर्शन गरका हुन् । ‘हामी लगातार नौ दिनसम्म सडकमा रातदिन बिताउँदा पनि सरकारले केही सुनेन । हाम्रो मागलाई बेवास्ता गरियो,’ मोही किसान जयन्द्र चौधरीले भने, ‘हामीलाई पशुजस्तै व्यवहार गरेका कारण बिरोधस्वरुप सडकमा पशु भएर हिडेका हौं ।’ सरकारले किसानको आवाज नसुनेपछि हलोजुवामा नारिएर पशुको रुपमा प्रस्तुत हुनुपरेको अर्की किसान साबित्री चौधरीले बताइन् । ‘हामीले जीवनभर हलो जोत्दा पनि जग्गामा अधिकार पाउन सकेनौं,’ उनले भनिन्, ‘मोहीपूर्जा मात्रै पायौं, जग्गा पाएनौं । जीवनभर हलो जोतेको संकेत गर्न पनि हलोजुवामा जोतिएर प्रदर्शन गरेका हौं ।’

उनीहरु बजार परिक्रमा गरी फेरि प्रशासन कार्यालयको गेटअगाडि फर्केका छन् । कार्यालय अगाडि २४ घण्टे धर्ना दिँदा पनि सरकारले माग सम्बोधन नगरेको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सचिव भरतराज गिरीले बताए । रातदिन सडकमा बस्दा किसानहरु बिरामी हुन थालेको समितिका सहसचिव प्रविण चौधरीले बताए । ‘बृद्धाबृद्धादेखि महिला र बालबालिका रातदिन सडकमै छन् । किसानहरु बिरामी हुने क्रम बढिरहेको छ,’ उनले भने,‘हाम्रो मागप्रति सरकार जिम्मेवार देखिएन । यसले किसानलाई धेरै दुखी बनाएको छ ।’स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ । सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर टुक्रदै जाँदा ३ हजार ५ घरधुरी पुगेका छन् । जसमा १५ हजार बढी सदस्यहरु आश्रित रहेको संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

कानूनी जटिलताका कारण नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको हो । एकातिर सर्बोच्च अदालतले स्वर्गद्वारी गुठी बिशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डिकरण गर्न नमिल्ने आदेश गरेको छ भने अर्कोतिर मोही किसान मोहीपूर्जा बोकेर न्याय मागिरहेका छन् । २०६२ चैत १४ गते सर्बोच्च अदालतले स्वर्गद्वारी गुठी बिशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनी परमादेश जारी गरेको थियो । न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलाशले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैंसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो ।

स्वर्गद्वारी आश्रमका बिषयमा सर्वोच्च अदालतबाट फैसला समेत भएकाले सबै गुठीलाई एउटै नजरले नहेरी गुठी बिधेयकमा स्वर्गद्वारी गुठीलाई बिशेष प्रकृतिको निजी गुठीका रुपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ । बिरोधका कारण रोकिएको गुठी बिधेयक तत्काल संसद्मा पेश गरी पारित गर्न किसानहरुले माग गरेका छन् । गुठी ऐनमा स्वर्गद्वारी गुठीको जग्गामा मोहीयानी हक स्थापित हुने व्यवस्था गरी सोही बमोजिम जग्गा बााडफाँट हुनुपर्ने संघर्ष समितिको माग छ । स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले जग्गाको द्वैध स्वामित्वको बिषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक समिति गठन गरेको छ ।

आश्रम व्यवस्थापन समितिको पुस १५ गते बसेको बैठकले आश्रमको जग्गाको द्वैध स्वामित्वको उचित निकासबारे कानूनविद् र सम्बद्ध बिज्ञहरुसँग परामर्श गरी रायसुझाव पेश गर्न र जग्गाको यथार्थ विवरण संकलन गर्न ब्रम्हचारी बासुदेव भट्टराईको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो । बैठकले आश्रमको जग्गा दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको, अधिकांशले शर्त अनुसार ठेक, कुत र भाडा नदिएको तथा मोही किसानका नाममा अधिकार जमाउने गतिबिधि बढ्दै गएको निष्कर्ष निकाल्दै यसबारे बिस्तृत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई ६ महिनाको समय दिएको छ । उक्त समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने समितिको तयारी छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *