विद्यालयको होस्टलभित्रै झुण्डिएको अवस्थामा भेटिइन् छात्रा

by

in

काठमाडाैं । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतनको होस्टलमा एक छात्रा झुण्डिएकाे अवस्थामा भेटिएकी छिन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया सालिन पोखरेल नाम गरेकी छात्रा झुण्डिएकाे अवस्थामा भेटिएकाे इलाका प्रहरी कार्यालय टाँडी चितवनले पनि पुष्टि गरेको छ ।

सालिनले शनिबार बिहान साँढे १० बजेतिर आत्महत्या गरेको प्रहरीले जानकारी दिएपनि आफन्तहरूले भने होस्टलका वार्डेनले यातना दिएपछि यस्तो घटना घटेको दाबी गरेका छन् ।

केही वर्ष अगाडि पनि सोही विद्यालयमा यस्तै प्रकृतिको घटना घटेको भन्दै सालिनको घटना भएको स्थान हेर्दा हत्या गरिएको प्रष्ट हुने भन्दै आफन्तहरूले हत्या नै भएको दाबी गरेका छन् । गोरखा घर भै हाल रत्ननगर १५ स्थित मामाघरमा बसेर शिशु निकेतनमा अध्यनरत सालिनले होस्टलकै कोठाको सिलिङमा स्काउटको डोरीमा झुन्डिएर आत्महत्या गरेको स्कुल प्रशासनले दाबी गरेको छ ।

दुई वर्षअघि कक्षा ६ मा भर्ना भएकी उनी होस्टलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् । बुबा–आमाको सम्बन्धविच्छेद भएपछि सालिन मामा घरमै बसेर अध्ययन गरिरहेको बुबा काठमाडौंमा रहेको तथा आमा भने वैदेशिक रोजगारीको लागि संयुक्त अरब इमिरेट्समा रहेको बुझिएको छ ।

घटना लगत्तै बालिकाको शवलाई अस्पताल लगिए पनि अहिलेसम्म पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको छैन भने घटनाको थप अनुसन्धानका लागि होस्टलका वार्डेन, प्रिन्सिपल र सहायक प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ भने आफन्तहरूले सालिनको हत्या भएको दाबी गर्दै होस्टलका वार्डेनलगायतका विरुद्ध किटानी जाहेरी लिएर गएको भएपनि प्रहरीले दर्ता गर्न नमानेको परिवारले दाबी गरेका छन् । प्रहरीले भने जाहेरीको अध्ययन भैरहेको प्रहरीले जनाएको छ ।

उता, मृतक बालिकाका काका महेश पोख्रेलले भने शनिबार बिहान मात्रै होस्टलका वार्डेनले यातना दिएको जानकारी पाएको भन्दै यसअघि पनि बालिकालाई होस्टलका वार्डेनले यातना दिने गरेको तथा एउटा जुत्ता धोएर सुकाएर अर्को जुत्ता धुँदै गरेको अवस्थामा यो घटना घटेको देखिएकाले हत्या नै भएको दाबी गरेका छन् । त्यसअघि समेत सोही होस्टलमा बस्ने विद्यार्थीले आफ्नै घरमा गएर आत्महत्या गरेको विषय पनि रहेको भन्दै उनले यो घटना आत्महत्या हुनै नसक्ने जिकिर गरे ।

आरोपित होस्टलका वार्डेनको कार्यकक्षमा नशाको लागि प्रयोग गरिने औषधिसमेत भेटिएको भन्दै होस्टलका वार्डेन ड्रग्स युजर रहेको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ ।

यता वार्डेनको कार्यकक्षबाट बरामद भएको नशालु औषधि विद्यार्थीबाट बरामद गरेर वार्डेनले आफ्नो कार्यकक्षमा राखेको अस्पताल प्रशासनको दाबी छ । भेटिएको औषधिहरु लागुऔषध दुव्र्यसनीले प्रयोग गर्ने तथा इन्जाइटीका रोगीहरुले प्रयोग गर्ने खालका छन् । वार्डेन इन्जाइटीको समस्याग्रस्त रहेको पनि बताइएको छ । यद्यपि, प्रहरीले अध्ययन भइरहेको जनाएको छ ।