पाँच वर्षदेखि दुई युवा यूएईको जेलमा, श्रेष्ठका लागि जुट्यो ‘ब्लडमनी’

by

in

खोटाङ, १६ फागुन । हत्या अभियोगमा पाँच वर्षदेखि यूएई (दुवई)को जेलमा परेका ओखलढुंगा चिसंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठलाई छुटाउनका लागि आवश्यक ‘ब्लडमनी’ जुटाइएको छ । नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिका–११ का बाबुराम आलेमगरको हत्या अभियोगमा श्रेष्ठ र धादिङ नेत्रावती गाउँपालिका–४ का पहलमान थापामगर हाल हाल यूएई सारजाहाको सेन्टर जेलमा राखिएका छन् । सन् २०१९ जुन ३ तारिख (२०७६ जेठ २० गते) सँगै बस्ने आलेमगरको हत्या गरेको अभियोगमा श्रेष्ठ र थापामगरलाई दोषी ठहर गर्दै आजीवन कारावासमा हालिएको थियो ।

यूएईको कानुन बमोजिम मृतक परिवारलाई ब्लडमनी तिरेर अभियोग फिर्ता लिने व्यवस्था अनुसार श्रेष्ठ र थापामगरको परिवारले २०७९ बैसाख १६ गते मृतकको श्रीमती नरिमा आलेसँग यूएईको अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन लागुहुने शर्त सहित करारनामाको कागज गरेका थिए । श्रेष्ठ र थापामगर परिवारले मृतक आलेमगर परिवारलाई ५०/५० लाख (३ लाख दिराम) दिने र मृतक परिवारले अभियोग फिर्ता लिने लिखित सम्झौता भएको थियो । करारनामाको दिन थापामगर परिवारले मृतक परिवारलाई १६ लाख ६२ हजार ५०० र श्रेष्ठ परिवारले ३ लाख दिएका थिए । बाँकी रकम दुई महिनाभित्र तिर्ने कागज गरिएको थियो । त्यसबीचमा श्रेष्ठ परिवारले थप २ लाख पठाइदिएको जनाएको छ ।

करारनामापछि श्रेष्ठ र थापामगरलाई जेलबाट छुटाउनका लागि आवश्यक ब्लडमनी जुटाउन अभियान थालिएको थियो । तर आफन्तले निर्धारित समयमा सहयोग जुटाउने लक्ष्य पूरा गर्न सकेका थिएनन् । अभियान सेलाउँदैगएको अवस्थामा श्रेष्ठका लागि पुःन गत फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म ब्लडमनी जुटाउने अभियान सञ्चालन गरिएको थियो । यसबीचमा करिब ५५ लाख संकलन भएपछि अभियान बन्द गरिएको श्रेष्ठका आफन्त एबं पत्रकार शिबप्रसाद ढुंगानाले बताए । “भुवनको ब्लडमनीका लागि फागुन १२ गतेभन्दा अघि ९ लाख बढी सहयोग उठेको रहेछ, त्यसमा थप गरेर ५५ लाख पुर्‍याएका छौँ । ब्लडमनीका लागि चाहिने पैसा उठेपछि अभियान बन्द गरिसकेका छौँ,” ढुंगानाले भने, “अव धादिङका पहलमानको लागि पनि तत्काल ब्लडमनी जुटाउनका लागि आफन्तलाई भनिरहेका छौँ ।”

श्रेष्ठ र थापामगरको परिवारका अनुसार बिरामी आलेमगरको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । सँगै बस्ने साथीको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर छानविन सुरु गरेको थियो । सो घटनामा यूएईको तल्लो अदालतले श्रेष्ठ र थापामगरलाई दोषी ठहर गर्दै आजीवन काराबासको फैसला सुनाएको थियो ।

भुवनलाई जेलमुक्त गर्नका लागि ५० लाख माग भएको तर आर्थिक अवस्था कमजोर भएका कारण ऐच्छिकरुपमा सहयोग गर्न चिशंखुगढी गाउँपालिकाले २०७९ जेठ १० गते सिफारिस दिएको थियो । यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय ववरमहलले श्रेष्ठलाई उद्धार गरी नेपाल पठाउन पहल गर्न युएईस्थित नेपाली दुतावासलाई २०७९ फागुन ८ गते पत्राचार गरेको थियो ।

जेलमा परेका छोरालाई उद्धार गरी नेपाल ल्याउनका लागि बुवा यमबहादुर श्रेष्ठले दिएको निवेदनका आधारमा बोर्डले दुतावासलाई पत्र पठाएको थियो । ब्लडमनी बुझाउँदैमा श्रेष्ठ र थापामगरले यूएईको जेलबाट छुट पाउने/नपाउनेमा भने अझै पनि अन्योल देखिएको छ ।