‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए

by

in

माधव काफ्ले, विराटनगर ।

मोरङ बूढीगंगा गाउँपालिका–४ प्रगति टोलका ५५ वर्षीय ज्योति अधिकारी शुक्रबार आफ्नो ज्यान बचाइदिन हारगुहार गर्दै थिए ।

बूढीगंगा–४ प्रगति टोलस्थित आफ्नै किराना पसलको डिलमा देब्रे खुट्टा पसारेर ज्यानको भिख मागिरहेका अधिकारीको दाहिने खुट्टा भने भारी मार्वल स्टोनले थिचिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्रेनको सहायतामा मार्वल स्टोन निकालेर अधिकारीको उद्दार गर्ने प्रयत्न गरिरहँदा उनी भन्थे, ‘छिटो ढुंगा हटाइदेओ, मलाई बचाओ ।’

पछि ड्रिल मेसिन ल्याएर अधिकारीको उद्दारमा प्रयासमा जुटेको प्रहरीले अन्तत: करिब ६ घण्टामा सफलता प्राप्त गर्‍यो ।

तर, आफू बाँचे पनि अधिकारीले आफ्ना कलिला दुई सन्तान गुमाउनु पर्‍यो ।

आज बिहान साढे ७ बजेबाट आफ्नो दुखाई बिर्सिएरै भए पनि सन्तान गुमाउनुको भित्रि चोट सहेर बसेका थिए, अधिकारी ।

करिब पाँच घण्टा अक्सिजनको सहारामा बसेका उनी अहिले विराट मेडिकल टिचिङ हस्पिटलमा उपचाररत छन् ।

‘करिब–करिब २५ टनजत्तिको मार्वलले उहाँको दाहिने खुट्टा किचिएको थियो, अक्सिजनको सहारामा आफ्नो ज्यान बचाइदिन आग्रह गरिरहनुभएको थियो,’ बूढीगंगा–४ का वडाध्यक्ष शशिकान्त चौधरी भन्छन्,‘बल्लतल्ल उहाँको उद्दार भयो । अहिले उपचाररत हुनुहुन्छ ।’

अधिकारीको नेमुवास्थित स्वस्तिक जुट उद्योगनजिक किराना पसल छ । अधिकारी दम्पत्तिले २० वर्षअघि देखि सञ्चालन गर्दै आएको सो पसलअगाडि आज बिहान तीन जना नानीहरू खेल्दै गरेका थिए ।

श्रीमती आशा पोखरेल अधिकारी भान्सामा दाल बसाउँदै थिइन् । ज्योति भने आफ्ना दुई सन्तानसहित छिमेकी बालिकालाई खेलाउँदै थिए ।

कालोपत्रेको काम भइरहेकाले गर्दा सडक साँघुरिएको थियो । नजिकै साइकल राखेर खेलिरहेका बालबालिकालाई जोगाउन खोज्दा हुँइकिँदै आएको मालबाहक लहरी पल्टियो ।

त्यसक्रममा लहरीमा अत्याधिक रूपमा लोड गरिएको मार्वल स्टोनले त्यहाँ रहेका सबैलाई किच्यो ।

जसमा, गम्भीर घाइते बनेका अधिकारीले आफ्ना दुई जुम्ल्याहा सन्तान गुमाउनुपरेको हो, ती सन्तानहरू उनको लामो तपस्याको फल रहेको बताइन्छ ।

दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडाका अनुसार जेठी श्रीमती कल्पना अधिकारीकै सहमतिमा २० वर्षअघि ज्योतिले विवाह गरेका थिए ।

‘पहिलो श्रीमतीबाट सन्तान नभएपछि उहाँले अर्को बिहे गर्नुभएको थियो,’ उपप्रमुख खतिवडा भन्छिन्, ‘जेठी श्रीमती दुहबीमा बस्दै आउनुभएको छ । सल्लाहमै सन्तानका लागि उहाँले दोस्रो विवाह गर्नुभएको थियो । कान्छी श्रीमतीबाट बुढेशकालमा जन्मिएका जुम्ल्याहा सन्तानको भने मार्वल स्टोनले थिचेरै निधन भयो । कस्तो दुःखद् !’

४ नम्बरका वडा सदस्य नुर आलमका अनुसार विभिन्न मठ–मन्दिरको भाकल गरेपछि उनीहरूलाई सन्तान प्राप्ति भएको थियो । ‘निकै संघर्ष गरेर किनेको जग्गामा किराना पसलसहित घर ठड्याएका थिए, उनीहरूले । तर, न घर रह्यो, न रहरलाग्दा दुई सन्तान,’ आलमले भने ।

मोरङ प्रहरीका अनुसार मार्वल लोड गरेको आरजे २९ जिबी १५६१ नम्बरको भारतीय लहरीले अधिकारीको घरमा क्षति पुर्‍यायाउँदा घरभित्र रहेका पाँच वर्षीय निशान अधिकारी र इसिता अधिकारीको मृत्यु भएको हो ।

उनीहरूसँग खेल्न आएकी स्थानीय सञ्जु खवासकी आठ सात वर्षीया छोरी रिया खवासको पनि मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार भारतबाट मार्वल उद्योगका लागि कच्चा पदार्थ लिएर नेमुवाबाट कोयलपुरतर्फ जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा जुम्ल्याहा सन्तानका बुबा ज्योति अधिकारी र रियाकी आमा सञ्जु पनि घाइते भएका छन् ।

प्रहरीले दुर्घटनाग्रस्त लहरी र मार्वल स्टोन क्रेनको सहायतामा पन्छाएर शव निकालेको थियो ।

लहरी चालक भने फरार रहेका छन् । लहरीधनी मार्फत् फरार चालकको खोजी भइरहेको डिएसपी दाहलले जानकारी दिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *