६० देश सहभागी ‘खाना पकाउने प्रतियोगिता’मा रुकुम पश्चिमका कमल दोस्रो (भिडि‌ओ)

by

in

रुकुम पश्चिमका कमल थापा ६० देश सहभागी योङ सेफ ओलम्पियाडमा दोस्रो हुनुभएको छ । यो खाना पकाउने प्रतियोगिता हो । मुसिकोट नगरपालिका वडा नम्बर ८ घर भई हाल एकेडेमिक अफ कलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा अध्ययनरत थापाले प्रतियोगिता जनवरी २९ देखि फेब्रुअरी ४ सम्म भारतको नयाँ दिल्लीमा आयोजित योङ सेफ ओलम्पियाड २०२४ मा कुल तीन अवार्ड जित्नुभयो ।

प्रतियोगितामा थापाले फ्रान्स, इङ्गल्यान्ड, सिंगापुर, अमेरिका, स्पेन, अस्ट्रेलिया, साउदी अरेबिया, मलेसिया, इरान, टर्की, चीन लगायत ६० देशका राष्ट्रिय प्रतिनिधिलाई पछि पार्नुभयो । उहाँले सिल्भर मेडल (दोस्रो स्थान), एम्बेसेडर अवार्ड र वेस्ट भेजिटेरियन डिश अवार्ड जित्नुभयो । उहाँले तीन हजार अमेरिकी डलर, सिल्भर मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

देशको लागि गर्वको विषय हो
कखरासँगको कुराकानीमा बोल्दै थापाले यो ऐतिहासिक क्षण सम्पूर्ण देशको लागि गौरवको विषय रहेको प्रतिक्रिया दिनुभयो । अहिलेसम्म नेपालले प्राप्त गरेको यो नै ठुलो उपलब्धि रहेको उहाँको भनाई छ । ‘टप टेनसम्म अरू पनि प्रवेश गरेका थिए, तर यो खालको उपलब्धि पहिलो पटक प्राप्त भएको छ, थापाले भन्नुभयो–यो मेरा मात्र होइन देशकै लागि गर्वको विषय हो ।’ आफू जस्ता प्रतिभालाई राज्यले संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्म क्याम्पसले मात्र सहयोग गरेको तर राज्यले यो तर्फ ध्यान नै दिन नसकेको गुनासो उहाँको छ ।

WhatsApp Image 2024-02-08 at 18.06.45_af9fc5211707397463.jpg

देशलाई चिनाउन सकेँ
६० वटा देशले प्रतिस्पर्धा गर्दा दोस्रो हुनु ठुलो कुरा रहेको उहाँको भनाई छ । आफूले नेपाललाई ६० देश सामु चिनाउन सफल भएको थापाले बताउनुभयो । ‘यो एउटा प्रतियोगिता मात्र थिएन, देश देश बिचको संस्कृतिलाई एक अर्कामा शेयर गर्ने राम्रो थलो थियो, मैले नेपालको संस्कृतिलाई ६० देश सामु चिनाउन सकेँ जस्ता लाग्छ, उहाँले भन्नुभयो ।’ हामी नेपाली केही कुरामा पनि कम छैनौँ भन्ने यो प्रतियोगिताबाट पुष्टि भएको उहाँ बताउनुहुन्छ ।

सबैभन्दा मिठो खाना पकाएँ
प्रतियोगिताका लागि हाम्रो कलेज छनोटमा परेको थियो । प्रतियोगितामा कसले प्रतिनिधित्व गर्ने भनेर हाम्रो कलेजमा प्रतिस्पर्धा भयो । त्यसमा म प्रथम भएँ र सेफ ओलम्पियाडका लागि छनोट भएँ । मेरो लागि यो नै ठुलो कुरा थियो । म र नियम अनुसार मेरो लागि एक जना मेन्टर सहित दुई जना दिल्ली गयौँ । उक्त प्रतियोगितामा दुई वटा चरण थिए । पहिलो चरणमा सबै ६० सहभागीले आ आफ्नो परिकार तयार गरेर पेस गर्नुपर्ने थियो । तर भेज परिकार बनाउनुपर्ने थियो । मैले सखरखण्ड र दालको प्रयोग गरी परिकार बनाएको थिएँ । त्यो ६० देश मध्येमै पहिलो बन्यो । निर्णायकहरुले निकै तारिफ गर्नुभयो । पहिलो राउन्डबाट उत्कृष्ट नतिजाका साथ म दोस्रो चरण प्रवेश गरेँ । दोस्रो चरणमा १० देशका प्रतिनिधि मात्र थियौँ । हामीलाई कुखुरा दिइएको थियो । त्यसलाई आफ्नो सीप प्रयोग गरेर परिकार बनाउनुपर्ने थियो । मैले चिकेन करि बनाएँ । त्यो पनि निकै राम्रो बन्यो । सुरुमा त कस्तो बन्ला, निर्णायकहरुलाई मन पर्ला कि नपर्ला भन्ने डर थियो तर जब मैले परिकार प्रस्तुत गरेँ त्यसपछि सबै निर्णायकहरुले निकै राम्रो प्रतिक्रिया दिनुभयो । नम्बर पनि सबै निर्णायकले १० मा १० नै दिनुभएको थियो । त्यसपछि मलाई केही स्थान त पक्का आउँछ भन्ने लागिसकेको थियो । तर नतिजा सार्वजनिक भएपछि दोस्रो भएको थाहा भयो । नम्बर र निर्णायकहरूको प्रक्रिया सुन्दा प्रथम नै हुन्छु कि भन्ने पनि लागेको थियो । दुवै चरणमा मैले सबै भन्दा मिठो खाना पकाएको थिएँ ।

Kamal TH1707397757.jpg

यो सुरुवात हो
मैले कक्षा १० सम्म रुकुममै पढेको हुँ । १२, १२ पढ्न काठमाडौँ आएँ । रुचिका कारण होटेल म्यानेजमेन्ट जोइन भएँ । पढ्दै, सिक्दै यहाँसम्म पुगेको छु । यसलाई मैले सुरुवातको रूपमा लिएको छु । भोलीका दिनमा थप राम्रो गर्ने योजना बनाएको छ । अहिले नै त्यो सम्भव छैन । अझै काम सिक्नुपर्ने छ । तर भोली आफ्नै देशमा केही गर्ने लक्ष छ । आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना छ ।

गोल्ड मेडल जित्ने लक्ष
यो प्रतियोगितामा राम्रो गर्दा गर्दै पनि गोल्ड मेडल जित्न अर्थात् प्रथम हुन सकिएन । तर अझै राम्रो गरेर अर्को पटक पनि यो प्रतियोगितामा सहभागी भएर गोल्ड मेडल जित्ने र नेपाललाई प्रथम बनाउने लक्ष छ । यसका लागि मैले अझै राम्रो गर्नुपर्ने छ । यसका लागि म तयार छु ।